Technology Khabar २१ असार २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, २१ असार । विश्वको चर्चित स्मार्टफोन निर्माता कम्पनी ब्ल्याकबेरीले एन्ड्रोयडमा आधारित स्मार्टफोन छिटै ल्याउने भएको छ । यसअघि नै ब्ल्याकबेरीले एन्ड्रोयड अपरेटिंग सिष्टममा आधारित स्मार्टफोन ल्याउन लागेको जानकारी सार्वजनिक भईसकेको थियो ।
कम्पनीले एन्ड्रोयडमा आधारित भएर तयार पारेको नयाँ स्मार्टफोनको कोड नाम हाल भेनिस राखिएको छ । ब्ल्याकबेरीको नयाँ फोन भेनिसको तस्विर हालै अनलाईनमा लिक भएको छ । ब्ल्याकबेरीको भेनिस स्मार्टफोनको तस्विर इभान ब्लासले इभालिक्समार्फत लीक गरेका हुन् ।
यो स्मार्टफोन हेर्दा सामसुंगको ग्यालेक्सी एस सिक्स एज जस्तै देखिन्छ । यसको दुबै तिरको डिस्प्ले केहि घुमाउरो (Curved) देखिन्छ ।
यो स्मार्टफोन ब्ल्याकबेरीले मार्च महिनामा मोबाइल वल्र्ड कंग्रेसमा घोषणा गरेको स्मार्टफोनसँग मिल्दोजुल्दो देखिन्छ । यो स्मार्टफोनमा फिजिकल किबोर्ड पनि राखिएको छ । जसलाई फोनमा स्लाईड गरेर प्रयोग गर्न सकिन्छ । एन्ड्रोयडमा आधारित यो स्मार्टफोनको कर्भ्ड डिस्प्लेको मुनिबाट फिजिकल क्वेर्टी किबोर्डलाई स्लाइड गर्न सकिने बताईएको छ ।
सार्वजनिक भएको ब्ल्याकबेरीको भेनिस मोडलमा ५.४ इन्चको क्यूएचडी टचस्क्रीन छ भने १६ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । ३ जीबी र्याम राखिएको यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ८०८ को चीपसेट तथा हेक्सा कोर सीपीयू रहेको छ ।
प्रकाशित: २१ असार २०७२, सोमबार