Technology Khabar १४ असार २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, १४ असार । गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित बेल्जियमस्थित पीबीए गु्रुप र जापानको टीबीआई गु्रपको संयुक्त लगानीमा स्थापित होटल नेशनलको औपचारिक उद्घाटन भएको छ । बेल्जियमका उपप्रधानमन्त्री क्रिश पीटर्स, संसदका सदस्य नाहीमा लंगेरी तथा टीबीआईका अध्यक्ष भवन भट्टले आन्त्रोपेनस्थित सो होटलको समुद्घाटन गरेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री पीटर्सले बेल्जियमले सधै वाह्य लगानी प्रोत्साहित गर्दै आएको बताउँदै यसले मुलुकमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक बृद्धि र आन्तरिक प्रतिस्पर्धामा उल्लेखनीय योगदान पुगेको बताए । उनले नेपाली जनता सहृदयी भएको भन्दै हालै गएको विनासकारी भूकम्पपछि आपूmहरुले पनि सेवा गर्न पाएकोमा प्रसन्नता पनि व्यक्त गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्षसमेत रहेका टीबीआई अध्यक्ष भट्टले जापान, नेपाल, अष्ट्रेलिया, हङकङ, सिंगापुर बेल्जियम, अमेरिका, भारतलगायत मुलुकमा कम्पनीको व्यावसायिक सञ्जाल विस्तार भइसकेको जानकारी दिए । टीबीआईले होटल तथा रिसोर्ट, खाद्य तथा पेय पदार्थ, नेटवर्क, हवाइ उड्डयन, ट्राभल एन्ड टुरिजम, एफएमसीजी, आइसीटी, मिडिया, पूर्वाधार, व्यापार, शिक्षा तथा तयारी पोशाक उद्योगमा लगानी गरेको उनले जानकारी दिए ।
पीबीए र टीबीआईको संयुक्त लगानीमा वेल्जियमका खुलेको यो दोस्रो होटल हो । गत जुनमा आन्त्रोपेन नजिकै सेन्ट निक्लासमा होटल न्यू फ्लान्दर संचालनमा आइसकेको छ । यो तीनतारे होटल खुलेको ६ महिना पछाडी बिहिबार दोस्रो होटलको उद्घाटन भएको हो ।
पीबीए ग्रुपमा टिबीआई ग्रुपका अध्यक्ष भवन भट्ट तथा बेल्जियमका ब्यवसायीद्वय अर्जुनकुमार श्रेष्ठ र प्रेम गुरुङ रहेका छन् ।
नेशनल होटल बिहिबारबाटै पूर्णरुपमा संचालनमा आएको छ । जसमा ४० कोठा रहेका छन् भने एकपटकमा ९२ जनासम्म पाहुँनालाई सेवा दिनसक्ने क्षमता छ । बेल्जियमको राजधानी ब्रसेल्सदेखि झन्डै ४५ किमीको दूरीमा अवस्थित पर्यटकीय शहर आन्त्रोपेनको केन्द्रमा रहेको यो होटलमा १५० जनाको सेमिनारका लागि प्रविधियुक्त सभाहल समेत रहेको छ । साथै १७० गाडी पार्किंङ सुबिधा रहेको छ । होटलको भूई तलामा रेष्टुरेन्ट समेत संचालित छ । गत डिसेम्वरमा आफ्नो स्वामित्वमा लिए लगत्तै होटललाई नयाँपन दिन र अत्याधुनिक सुबिधा उपलब्ध गराउन थप लगानी समेत गरिएको थियो । (तस्विर कारोबारडेली डटकमबाट)
प्रकाशित: १४ असार २०७२, सोमबार