Technology Khabar १० असार २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, १० असार । फलको राजा मानिने आँपसम्बन्धि पहिलो राष्ट्रिय आँप महोत्सव राजधानीमा हुने भएको छ । नेपाल फलफूल थोक ब्यवसायी संघ कुलेश्वर तथा फलफूल विकास निर्देशनालय कीर्तिपुरको संयुक्त सहकार्यमा शुक्रबारदेखि (भोली) देखि दुई दिनसम्मका लागि भृकुटी मण्डपमा गर्न लागिएको हो ।
संघका अध्यक्ष अमर बानियाँकाअनुसार महोत्सवमा ११ वटा स्टाल राख्ने व्यवस्था गरिएको छ । जसअनुसार पाँचबटा खुद्रा र ६ वटा थोक स्टल राख्ने व्यवस्था गरिएको छ ।
बानियाँकाअनुसार महोत्सवमा नेपालमा पाइने १८ जातका आँप र आँपबाट निर्माण हुने अन्य परिकारको बारेमा उपभोक्तालाई जानकारी दिइनेछ । यसका साथै भारतलगायत अन्य मुलुकबाट भित्रिने बिषादी तथा रसायनयुक्त आँपको बारेमा पनि महोत्सवमा जानकारी दिइनेछ । अनामनगरस्थित कृषि उपभोक्ता डबलीमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी दिइएको हो ।
संघले बिषादीरहित र स्वच्छ आँप उपभोग गर्न कुलेश्वर बजारबाट मात्र खरिद गर्न पनि आग्रह गरेको छ । संघले बिषादी रहित र स्वच्छ आँपका लागि नेपालमै उत्पादन भएको मात्र सेवन गर्न पनि आग्रह गरेको छ। ’नेपाली आँपमा बिषादी प्रयोग भएको छैन्। कुलेश्वर बजारमा बिषादी नहालेको आँप मात्र भित्र्याइएकाले नेपाली उत्पादन मात्रै उपभोग गरौं,’ उनले भने,’यसले गर्दा स्वदेशी उपत्पादनको प्रवद्र्धन हुनुका साथै किसानले पनि सम्मान पाउन सक्छन्।
निर्देशनालयका बरिष्ठ कृषि अर्थविद् खिमनिधी लोहनीकाअनुसार नेपालमा ४६ हजार चार सय ६९ हेक्टरमा आँप खेती हुन्छ। त्यसमध्ये ३८ हजार तीन सय ५२ हेक्टरमा आँपको प्रचुर मात्रामा उत्पादन हुन्छ। आँप फल्ने मौसममा प्रति हेक्टरमा आठ मेट्रिक टन आँप फ ल्ने गरेको छ। आँप नफल्ने मौसममा भने दुई लाख ७० हजार चार सय ३१ मेट्रिक टन उत्पादन हुन्छ। बजारमा अहिले बार्षिक २७ लाख ७८ हजार चार सय ७८ मेट्रिक टन आँपको खपत भइरहेको छ। नेपालबाट १२ लाख २३ हजार सात सय ६८ किलो आँप भारतलगायतमा मुलुकमा निर्यातसमेत भइरहेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयका निमित्त प्रमुख केशवराज काफलेकाअनुसार आँप उत्पादन हुने उच्च तापक्रम आवश्यक पर्ने हुनाले यसको उत्पादन मुख्यतया तराईका जिल्लामा हुने गरेको छ। सरकारी तथ्याँकअनुसार सबैभन्दा बढी सप्तरी र सिराहा जिल्लामा आँप उत्पादन हुन्छ। सप्तरीमा पाँच हजार हेक्टरबाट ३५ हजार मेट्रिक टन र सिराहामा पाँच हजार हेक्टरबाट २० हजार मेट्रिक टन उत्पादन हुन्छ। त्यसपछि महोत्तरी, कपिलबस्तु, धनुषा, सर्लाही र रौतहठलगायत ७० वटा जिल्लामा उत्पादन हुन्छ। अर्थ्विद् लोहनीकाअनुसार आँपमा नेपाललाई आत्मनिर्भर हुन ६१ लाख ९३ हजार मेट्रिक टन उत्पादन गर्नुपर्ने अवस्था छ। आत्मनिर्भर बनाउन कृषि विकास मन्त्रालयले गत बर्षदेखि पाँच बर्षे कार्यक्रम पनि सुरू गरेको छ। प्रत्येक आर्थिक बर्ष एक हजार क्षेत्रफल बिस्तार गर्ने योजना छ।
प्रकाशित: १० असार २०७२, बिहीबार