एनएमबी र सक्षमबीच समझदारी

Technology Khabar २ असार २०७२, बुधबार

एनएमबी र सक्षमबीच समझदारी

काठमाडौं । एनएमबी बैंक र सक्षमबीच मध्य र सुदूरपश्चिमका दुग्ध सहकारी तथा कृषकका लागि सक्षमको दुग्ध वित्तीय सहयोग परियोजना प्रारम्भ गर्ने समझदारी भएको छ ।

सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले आफ्नो मध्य र सुदूरपश्चिमका दूध सहकारी तथा कृषकका लागि सक्षमको दुग्ध वित्तीय सहयोग नामक परियोजना कार्यान्वयन गर्नको लागि एनएमबी बैंकसँग साझेदारी गरेको हो । 

यस परियोजनालाई सक्षमको सहयोग तीन वर्षको लागि हुने र कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, र दाङ गरी छ जिल्लाका क्रियाकलाप समावेश हुनेछन् । 

यस नविन उत्पादन साझेदारीले गर्दा मध्य र सुदूरपश्चिम क्षेत्रका लघु, साना र मझौला उद्योग र कृषकले आवश्यक वित्तीय स्रोत पाउनसक्ने, दुग्ध विकास संस्थानलाई दूध आपूर्ति गर्नसक्ने, जसले गर्दा दूधको मूल्य श्रृङ्खलाका लागि नयाँ अवसर सिर्जना हुने बैंकले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

बैंकले तीन वर्षको अवधिमा २५ करोड रुपियाँ बराबरको कर्जा प्रदान गर्नेछ । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले यस परियोजनाले चुनिएका र नजिकैको जिल्लामा रहेका दुध सहकारीलाई उनीहरूको वित्तीय आवश्यकताका आधारमा प्रत्यक्ष रूपमा कर्जा प्रदान गर्ने बताए । 

कम्तीमा ५० सहकारीसँग सम्बद्ध हुने र लक्षित जिल्लाका कम्तीमा चारसय लघु, साना तथा मझौला उद्योगलाई कर्जा दिने आफूहरुको योजना रहेको पौडेलले जानकारी दिए । 

सक्षमका समूह प्रमुख बलजित बोहोराले एनएमबी बैंकसँगको यस साझेदारीमार्फत दुग्ध विकास संस्थानसँगको सहकार्यमा दूध सहकारी र कृषक समुदायलाई विशेष लक्षित वित्तीय सेवाहरू प्रारम्भ गर्ने बताए । 

हामी कृषकलाई अझ राम्रो सुसूचित निर्णयहरू लिन सहयोग पुर्याउने एसएमएस सेवामा आधारित ज्ञान र अनुभव बाँड्ने मोडल पनि प्रारम्भ गर्न लागेका छौं भन्दै उनले एनएमबी बैंकसँगको सहकार्यले यस क्षेत्रका ग्रामीण गरिबको जीविकामा महत्वपूर्ण परिवर्तन ल्याउने बताए । 

सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम नेपाल सरकार र बेलायत सरकारबीच गरिएको द्विपक्षीय सम्झौताको एउटा अशंको रूपमा यूके एडबाट आर्थिक सहायताप्राप्त कार्यक्रम हो ।

प्रकाशित: २ असार २०७२, बुधबार

Comments are closed.

Loading...