Technology Khabar ३२ जेष्ठ २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, ३१ जेठ । चीनियाँ टेलिकम्यूनिकेशन कम्पनी हुवावेले नेपालमा भूकम्पलगायतका प्राकृतिक प्रकोपको बेलामा उपयोग हुने संचार उपकरण प्रणाली प्रदान गरेको छ ।
हुवावेको टोलिले आज एक कार्यक्रमका बिच सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजाललाई र्यापीड कम्प्यूनिकेशन सिष्टम हस्तान्तरण गरेको हो । हुवावेले दिएको उक्त उपकरण प्रणाली मन्त्रालयको अधिनमा रहने गरि नेपाल टेलिकमलाई दिइने मन्त्रालयका प्रवक्ता पुरुषोत्तम प्रसाद तिवारीले जानकारी दिए । टेलिकमले आवश्यकता अनुसार मन्त्रालयको संयोजनमा उक्त उपकरण प्रयोग गर्नेछ ।
हुवावेले दिएको उक्त उपकरण हाल भूकम्पले असर पारेका गाउँहरुमा प्रयोग गरिने बताईएको छ । मन्त्रालयका उपसचिव अनुप नेपालले गोरखा र सिन्धुपाल्चोकमध्ये एक जिल्लाको कुनै स्थानमा उक्त उपकरण जडान गर्ने बारेमा छलफल भईरहेको जानकारी दिए । उक्त उपकरण एक साताभित्र टेलिकमलाई दिएर प्रयोगमा आउने छ ।
उक्त उपकरण प्राकृतिक प्रकोप आएको बेला आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने बताईएको छ ।
मन्त्रालयका उपसचिव नेपालका अनुसार उक्त सिष्टमअन्तरगत १७ सय मेगाहर्जमा करिब एक सयवटा ह्याण्डसेट प्रयोग गर्न सकिनेछ । ‘यो हाल प्रयोगमा रहेको मोबाईल सिष्टमभन्दा फरक छ,’ उपसचिव नेपालले भने, ‘यसमा ३ सय ४० देखि ३ सय ८० फ्रिक्वेन्सी प्रयोग हुन्छ ।’
यो सिष्टमका लागि भिन्दै ह्याण्डसेट पनि आएको छ । जसलाई टेलिकमका प्राविधिकहरुले संचालन गर्नेछन् ।
उक्त सिष्टम संचालन गर्नका लागि हुवावेले टेलिकमका प्राविधिकहरुलाई तालिम दिनेछन भने यसको परिक्षण पनि गरिनेछ । विशेषगरी शिविरहरुमा प्रयोग गरिने यो प्रणालीमा भिडियो, डाटा तथा भ्वाईस आदान प्रदान गर्न सकिनेछ । हुवावेले दिएको सिष्टम समथर भूभागमा करिब ५ देखि ७ किलोमिटरको क्षेत्रमा मात्र प्रयोग गर्न उपयुक्त हुने उपसचिव नेपालले जानकारी दिए । ‘यो उपकरण नेपाली भूभागको सिमित क्षेत्रमा मात्र प्रयोग गर्न सकिने हुँदा त्यति उपयुक्त नहुन सक्दछ ।’ उनले भने
उक्त उपकरण मन्त्रालयको मातहतमा रहेर टेलिकमले आवश्यकता अनुसार प्रयोग गर्ने मन्त्रालयको भनाई छ ।
हुवावेले दिएको उक्त उपकरणको मूल्य ६ मिलियन डलर अर्थात ६० करोड रुपैंया पर्ने संचारमन्त्री रिजालले जानकारी दिएका छन् ।
प्रकाशित: ३२ जेष्ठ २०७२, सोमबार