चाउचाउ खाँदा होस गरौंं

Technology Khabar २९ जेष्ठ २०७२, शुक्रबार

चाउचाउ खाँदा होस गरौंं

काठमाडौं ।

काठमाडौं, २९ जेठ । अखाद्य सामाग्री मिश्रित म्यागी चाउचाउलाई भारतका विभिन्न राज्यहरुमा प्रतिबन्ध लगाईएको समाचार सार्वजनिक भएपछि नेपालमा पनि उक्त ब्राण्डको चाउचाउको गुणस्तरको बारेमा आशंका गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्यागी नुडल्सको आयात तथा बिक्रीमा प्रतिबन्ध लगायो ।

म्यागी चाउचाउमा अखाद्य सामाग्री मिसाईएको भारतमा भएको अनुसन्धान तथा प्रतिबन्ध र नेपालमा गरिएको प्रतिबन्धले पुष्टि गरिसकेको छ । फलस्वरुप उक्त कम्पनीले बजारबाट म्यागी चाउचाउ सम्पूर्णरुपमा फिर्ता लिने निर्णय गरिसकेको छ । यसैगरि वाइवाइ चाउचाउसहितका अन्य ब्राण्डका चाउचाउमा पनि उल्लेखनीय मात्रामा अखाद्य सामाग्री भेटिएको हुँदा भारतका केहि प्रान्तमा ती ब्राण्डका चाउचाउको बिक्री बितरणमा पनि बन्देज लागेको छ ।

विभिन्न चाउचाउ भारतमा र नेपालमा प्रतिबन्ध भईरहेको समयमा कुन चाउचाउ गुणस्तरीय र खान योग्य छ भनेर उपभोक्ताहरु असमन्जस्यमा परेका छन् । नेपाल दक्षिण एशियाली मुलुकहरुमा चाउचाउ उत्पादन र खपतको हिसाबले अग्रपंक्तिमा आउँछ । नेपालमा हाल विभिन्न ब्राण्डका चाउचाउहरु उपलब्ध छन् । रेडी टू इटदेखि पकाएर खाने ह्वाइट नुडल्ससम्म नेपाली बजारमा उपलब्ध छन् । नेपालमा उपलब्ध भएका मध्ये अधिकांश चाउचाउ स्वदेशी उत्पादन नै हुन् । नेपालमा चाउचाउलाई खाजा वा खाना दुबैको रुपमा प्रयोग गर्ने उपभोक्ताको संख्या पनि निकै छ । विशेषगरी नेपालमा बालबालिकाहरुले चाउचाउ निकै मनपराउने गरेका छन् ।

नेपालभित्र मात्र होइन नेपाल बाहिर पनि नेपाली चाउचाउको माग बढिरहेको छ । व्यापार निकासी तथा प्रबद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७०÷७१ को पहिलो आठ महिनामा मात्रै ६० करोड रुपैंया बराबरको चाउचाउ विभिन्न मुलुकहरुमा निर्यात भएको छ । नेपाल तयारी चाउचाउ उत्पादनमा आत्मनिर्भर बनिसकेको छ । नेपालमा अहिले सातवटा उद्योगले तयारी चाउचाउ उत्पादन गर्दछन् जसमा ५ अर्ब रुपैंया भन्दा बढि लगानी रहेको छ भने दर्जनौं ब्राण्डहरु बजारमा छन् ।

नेपालमा उपलब्ध भएका मध्ये वाइवाइ, मायोज, रमपम, रारा, मिहोलगायतका केहि ब्राण्ड निकै चलेका चाउचाउ ब्राण्ड हुन् । म्यागीलाई भारतमा र नेपालमा तथा वाइवाइलाई भारतमा प्रतिबन्ध लगाएपछि नेपालमा चलेका अन्य ब्राण्डका चाउचाउको विषयमा पनि चर्चा र आशंका शुरु भएको छ । नेपाली ब्राण्ड वाइवाइ भारतका केहि प्रान्तमा प्रतिबन्ध भईसकेको छ भने त्यसमा अनुसन्धान पनि शुरु भईसकेको छ । उक्त चाउचाउमा अजिनामोटोलगायतका अखाद्य पदार्थ मिसाएको भन्दै प्रतिबन्ध लागेको हो । जसले गर्दा अब के सबै नेपाली चाउचाउ गुणस्तरहिन छन् त भन्ने प्रश्न उब्जिएको छ ।

केहि कम्पनीहरुको गलत कार्यले गर्दा नेपालमा अजिनामोटो नराखिएका अन्य चाउचाउका ब्राण्डलाई पनि असर पार्ने देखिन्छ । कुनै ब्राण्डको चाउचाउ नराम्रो भयो भन्दैमा सबै चाउचाउलाई एकै दृष्टिकोणबाट हेर्न नहुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक अधिकारीले बताए । उनका अनुसार नेपालमा गुणस्तरीय उत्पादन गर्ने चाउचाउ ब्राण्डहरु पनि छन् । त्यसैले चाउचाउलाई नै प्रतिबन्ध लगाउने होइन की त्यसको गुणस्तरको विकासमा ध्यानदिनुपर्ने उनको तर्क छ । विभागकाअनुसार नेपाली ब्राण्डका चाउचाउहरुको नियमितरुपमा परिक्षण पनि हुने गरेको छ । त्यस्तै केहि चाउचाउ उत्पादकहरुले अजिनामोटो (एमएसजी) नमिसाएको भनेर उपभोक्तालाई जानकारी दिने गरेका छन् । उदाहरणको लागि नेपालको चर्चित एक चाउचाउ ब्राण्डले चाउचाउको बाहिर खोलमा नै “नो एडेड एमएसजी” अर्थात अजिनामोटो नमिसाएको भनेर उल्लेख गरेको पाईन्छ । नेपालमा केहि अन्य ब्राण्डले पनि अजिनामोटो नमिसाईकन चाउचाउ उत्पादन गरिरहेका छन् । यस्ता अजिनामोटोरहित चाउचाउ स्वास्थ्यको दृष्टिकोणबाट उपभोग गर्न सकिने खाद्य प्राविधिकहरुको भनाई छ ।

नेपालमा उत्पादन भएका सबैजसो चाउचाउ ब्राण्डले नेपाली उपभोक्तालाई नै ध्यानमा राखी उच्च गुणस्तरीय प्रविधिबाट स्वस्थकर र स्वादिष्टरुपमा उत्पादन गरिएको दाबी गर्ने गरेका छन् । केहि नेपाली ब्राण्डले नेपाल गुणस्तरका साथै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिन्ह पनि पाएका छन् । नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्डको आधारमा मात्र उत्पादन हुने चाउचाउ हरेक व्यक्तिले आफ्नो रुचिअनुसार उपभोग गर्न सक्दछन् ।

उपभोक्तावादिहरुले पनि नेपाली ब्राण्डका चाउचाउको गुणस्तरमा भन्दापनि सरकारी खाद्य प्रयोगशालाको क्षमताको बारेमा प्रश्न गर्ने गरेका छन् । अब उपभोक्तालाई विश्वास दिलाउन कम्पनीले आफैंले गुणस्तरीय उत्पादन हो भनेर प्रमाण दिनुपर्ने र उपभोक्ताहरु पनि अखाद्य वस्तु मिसाएको चाउचाउको बारेमा सजग हुनुपर्ने उपभोक्तावादिहरुको भनाई छ । उपभोक्ता नै बजारको राजा हो भन्ने विषयलाई ध्यानमा दिएर आफ्ना उत्पादनहरु बजारमा ल्याउने हो भने समस्या नै नहुने अवस्था आउँछ । यदि नेपाली चाउचाउ गुणस्तरीय नहुँदो हो त खाद्य उत्पादन र उपभोगमा निकै कडा कानुन भएका मुलुकहरु जापान, अमेरिका, कतार, बेलायत, अष्ट्रेलिया जस्ता मुलुकमा नेपाली चाउचाउ निर्यात हुन सक्दैन थियो होला । उपभोक्ताहरु पनि आफैं सजगहुँदै अजिनामोटो र अखाद्य सामाग्री नमिसाएका चाउचाउ मात्रै प्रयोग गर्नुपर्ने भएको छ । त्यसैले अब उपभोक्ताले चाउचाउ किन्दा अजिनामोटो नभएको चाउचाउ दिनुस भनेर मात्रै पसलेसँग माग्ने हो की ।

के हो मोनोसोडियम ग्लुटामेट (एमएसजी) ?

मोनोसोडियम ग्लूटामेट एशियन क्षेत्रका विशेषगरी चीन, जापान मा खानाहरुमा स्वाद बढाउनका लागि प्रयोग गरिन्छ । यसमा सोडियम नामक तत्व पाइन्छ र नुनमा पाइने मात्राभन्दा १÷३ मात्रा यसमा पाइन्छ । यसमा हुने ग्लूटामिक एसिड ग्लूटामेट एमिनो एसिड हो जुन टमाटर, च्याउ, सोयाबिनलगायतका उत्पादनहरुमा प्राकृतिकरुपमा नै रहेको हुन्छ ।
एमएसजीलाई एक्साइटो टक्सिनका रुपमा विशेषज्ञहरुले उल्लेख गरेका छन्, जसले हाम्रो कोषिकाहरुलाई बढि उत्तेजित बनाउँछ, जसका कारणले हाम्रो मस्तिष्कको कोषहरुलाई नष्ट गर्नुका साथै मृत्युसमेत हुने संभावना रहन्छ । विभिन्न अध्ययनहरुमा एमएसजीको मात्रा बढि हुँदा हाडलाई कमजोर बनाउने पनि उल्लेख गरिएको छ ।

Global Bank
easy care

प्रकाशित: २९ जेष्ठ २०७२, शुक्रबार

ताजा समाचार