Technology Khabar ३० बैशाख २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, ३० वैशाख । नेपालमा मंगलबार गएको अर्को शक्तिशाली भुइँचालोपछि भाइबरले नेपालका लागि फेरि निःशुल्क सेवा सुरु गरेको छ ।
यसअघि वैशाख १२ को भूकम्पपछि विश्वभर केही दिनका लागि निःशुल्क कल सेवा उपलब्ध गराएको भाइबरले पुनः नेपाली प्रयोगकर्ताले जुनसुकै मुलुकमा कल गर्ने सुविधा भाइबर आउट (Vibor Out) निःशुल्क गराएको हो । भाइवरले मंगलवारदेखि ४८ घण्टाको लागि मात्र सो सेवा दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
मंगलवार ट्विटर मार्फत यसबारेमा जानकारी दिँदै भाइबरले नेपालमा अाएको पछिल्लो भूकम्पपछि नेपाली प्रयोगकर्तालाई भाइबर आउट निःशुल्क गरिएको र नेपाली प्रयोगकर्ताले जुनसुकै स्थानमा भाइबरबाट कल गर्दा पैसा नलाग्ने उल्लेख गरेको छ ।
भाइवरले कठिन समयमा उक्त क्षेत्रमा भएका आफन्त तथा साथीभाईसँग पहुँचका लागि यो सेवामार्फत सहयोग पुग्ने उल्लेख गरेको छ । ‘हामी उत्कृष्ट सहयोग पुर्याउनका लागि निरन्तर अनुगमन गरिरहने छौं,’ भाइवरले फेसबुकमा लेखेको छ । यो सँगै भाइबरको प्रयोग गरी नेपाल भित्र वा नेपाल बाहिर गरिने जुनसुकै कलमा पैसा लाग्नेछैन ।
भाइवरले सेवा निशुल्क गरेको जानकारी पछिपनि ‘भाइवर आउट’मा समस्या आएको गुनासो प्रयोगकर्ताले गरेका थिए । तर भाइवरले अर्को ट्वीटमार्फत प्राविधिक समस्या समाधान भइसकेको जानकारी दिएको छ ।
यसको लागी प्रयोगकर्ताको स्मार्टफोन, ट्याबलेट वा कम्प्यूटरमा भाइवर इन्स्टल गरीएको हुनुपर्दछ ।
प्रकाशित: ३० बैशाख २०७२, बुधबार