नेपाल टेलिकमले पुनर्निर्माणका लागि १ अर्ब खर्च गर्ने

Technology Khabar २८ बैशाख २०७२, सोमबार

नेपाल टेलिकमले पुनर्निर्माणका लागि १ अर्ब खर्च गर्ने

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले भूकम्प पीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा तत्कालका लागि २५ करोड रुपैयाँ दिएको छ । टेलिकमले भूकम्पबाट प्रभावित नेपाली नागरिकको उद्धारका लागि आइतबार २५ करोड रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको हो ।

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिल बहादुर मल्लले प्रधानमन्त्री कोइरालालाई चेक हस्तान्तरण गरे । टेलिकमले कम्पनीका तर्फबाट २५ करोड, कम्पनीमा कार्यरत कर्मचारीको तलबबाट कट्टी गरिएको दुई करोड ७५ हजार रुपैंया र सञ्चालक समितिका पदाधिकारीको तीनवटा बैठक भत्ता बराबरको ८१ हजार ६०० गरी २७ करोड एकलाख ५७ हजार रुपैयाको चेक हस्तान्तरण गरिएको हो ।

टेलिकमले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेका काठमाडौँको धरहरा, गोरखाको मनकामना मन्दिर, काठमाडौँको स्वयम्भूनाथ, ललितपुर र भक्तपुरको दरबार स्क्वायर एवम् भूकम्पबाट अति प्रभावित क्षेत्रका सामुदायिक विद्यालयको पुनःनिर्माणका लागि एक अर्ब रुपैया खर्च गर्ने बताईएको छ ।

विनाशकारी भूकम्पका कारण घरबार गुमाई अस्थाई शिविरहरुमा बसोवास गरिरहेका भूकम्प पीडितहरुलाई आफन्तजनसँग सम्पर्क गर्न सुविधाजनक बनाउने उद्देश्यलेअस्थाई शिविरहरुमा वाइफाई हटस्पट सेवा निःशुल्क रुपमा संचालन गरेको टेलिकमले जनाएको छ ।

कम्पनीले बैशाख १२ गते भूकम्प गएको समयदेखि बैशाख १७ गतेराती १२ बजेसम्म एक अर्ब ४६ करोड रुपैया बराबरको जिएसएम तथा सिडिएमए नेटवर्कबाटभएका सम्पूर्ण सेवाहरु निशुल्क गराएको थियो।

यसैगरी टेलिकमले गत वैशाख १२ गतेको भूकम्प पीडितलाई सहयोग गर्न चाहनेलाई एसएमएसमार्फत रकम प्रदान गर्नसक्ने योजना ल्याएको छ ।

टेलिकमकाअनुसार भूकम्प पीडितलाई सहयोग गर्न चाहने ग्राहकले एसएमएसमार्फत २५, ५० तथा १०० रुपैयाँ प्रदान गर्न सक्नेछन् र ग्राहकलेआफ्नो मोवाइलबाट निशुल्करुपमा एसएमएस गर्न सक्ने समेत जनाएको छ।

आइतबारदेखि सुरु भएको यो योजना दुई हप्तासम्म चल्ने र त्यसपछि भने ग्राहकले एसएमएस गरेको ट्रेन्ड हेरेर अवधि थप्ने र नथप्ने निर्णय हुने टेलिकमले जनाएको छ। टेलिकमको यो योजना अन्तर्गत २५ रुपैयाँ सहयोग गर्न चाहने ग्राहकले १५०२५ मा, ५० रुपैयाँ सहयोग गर्न चाहने ग्राहकले १५०५० मा तथा एकसय रुपैयाँ सहयोग गर्न चाहने ग्राहकले १५१०० मा एसएमएस गर्नसकिने जनाएको छ।

easy care

प्रकाशित: २८ बैशाख २०७२, सोमबार