Technology Khabar २३ बैशाख २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, २३ वैशाख । वैशाख १२ गते गएको महाभूकम्प पिडितहरुलाई सहयोग गर्ने क्रम जारी रहेको बेलामा नेपालका टेलिकम अपरेटरहरुले पनि विभिन्न किसिमबाट राहत उपलब्ध गराएका छन् । नेपालका प्रमुख दुई टेलिकम अपरेटर कम्पनीहरु नेपाल टेलिकम र एनसेलले विभिन्न किसिमले भूकम्प पिडितहरुलाई आफ्ना सेवाहरु निशुल्क र छुट दिएर राहत प्रदान गरेको जनाएका छन् ।
नेपाल टेलिकमले भूकम्प आएको दिनदेखि गत विहिवार मध्यरातसम्म सबै सेवाहरु निशुल्क गरेको जनाएको छ । नेपाल टेलिकमले करिब एकसाताको अवधिमा भ्वाइस, म्यासेज, डाटालगायतका सेवाहरु निशुल्क प्रदान गरेको थियो । टेलिकमले उक्त अवधिमा दैनिक ४० करोड भन्दा बढि कल भएको तथा दैनिक १ करोड भन्दा बढि एसएमएस गरिएको जनाएको छ । टेलिकमका अनुसार कम्पनीले उक्त अवधिमा दिएको सेवाहरुलाई रकममा रुपान्तरण गर्दा करिब २ अर्ब रुपैंया बराबरको सेवा निशुल्क प्रदान गरिएको हो । त्यसैगरी टेलिकमले सो समयमा मुलुक बाहिर रहेका आफन्तहरुसँग सम्पर्क गर्नको लागि अन्तराष्ट्रिय कल पनि निशुल्क गरेको थियो । टेलिकमले भूकम्पबाट अधिक प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक, काठमाडौं, गोरखा, नुवाकोट, धादिंगलगायतका क्षेत्रमा थप राहत प्याजेक ल्याउने तयारी भएको जानकारी पनि दिएको छ ।
उता अर्को टेलिकम अपरेटर एनसेलले पनि विभिन्न चरणमा गरेर कल तथा एसएमएसमा छुट दिएको जानकारी दिएको छ । एनसेलले व्यालेन्स कम भएका ग्राहकलाई ३० रुपैंया व्यालेनस प्रदान गरिएको तथा ५० वटा भन्दा कम एसएमएस बाँकी रहेका ग्राहकाई पनि निशुल्क एसएमएस गर्नसक्ने सुविधा दिएको जनाएको छ । एनसेलले नयाँ वानेश्वर, कलंकी, बनेपा र गोरखा व्यवस्था गरेर र अन्य स्थानमा पहिलेकै स्वरुपमा सेन्टरहरु संचालनमा आएको जानकारी दिएको छ ।
प्रकाशित: २३ बैशाख २०७२, बुधबार