Technology Khabar ८ बैशाख २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, ८ वैशाख । एउटै क्षेत्रमा रहेका कम्पनीहरुबिच प्रतिस्पर्धा हुनु स्वभाविक मानिन्छ । तर कहिलेकाँही बजारमा आफ्नो पकड जमाउन निकै कडा प्रतिस्पर्धा पनि हुने गर्दछ । त्यस्तै उच्च प्रतिस्पर्धा नेपाली बजारमा दुई मोबाइल ब्राण्डबिच पनि देखिएको छ ।
नेपाली मोबाइल ब्राण्ड भनेर चिनिएको कलर्स (Colors) तथा भारतीय ब्राण्ड माइक्रोम्याक्स (Micromax) बिच उच्च प्रतिस्पर्धा देखिएको छ । माइक्रोम्याक्सले नेपालमा नै पहिलो पटक आफ्नो आधिकारीक शोरुम ताम्राकार कम्प्लेक्समा रहेको ‘भर्जिन मोबाइल’ मा स्थापना गर्यो तर त्यहि स्थानमा कलर्सले पनि पहिलेदेखि नै आफ्नो ब्राण्डलाई प्रबद्र्धन गर्दै आएको छ ।
कलर्सले सोहि शोरुममा केहि वर्षदेखि आफ्नो ब्राण्डको प्रमोशन पनि गरिरहेको छ । त्यसका साथै कलर्स ब्राण्ड नेपालमा स्थापित गर्ने टेलिटक प्रालिले समय समयमा विभिन्न प्रबद्र्धनात्मक कार्यहरु पनि गर्दै आएको छ । टेलिटकले अहिले चीनियाँ स्मार्टफोन ब्राण्ड जियोनी (Gionee) पनि आयात तथा बिक्री गरिरहेको छ ।
उता नयाँ वर्षको अवसर पारेर माइक्रोम्याक्सले ‘भर्जिन मोबाइल’मा वैशाख २ गते निकै आकर्षक कार्यक्रम गरेर आफ्नो शोरुम स्थापना गर्यो जसमा विभिन्न संचारकर्मी, मोबाइल व्यवसायीहरुको सहभागिता रहेको थियो । उक्त शोरुमको उदघाटन क्रिकेट खेलाडी वसन्त रेग्मी तथा मुरारका अर्गनाइजेशनका अध्यक्ष पशुपति मुरारकाले गरेका थिए ।
यति सम्म त सामान्य नै थियो तर जब विभिन्न निम्तालुलाई हाई-टि अर्थात खाजा खानको लागि आमन्त्रण गरियो उक्त स्थानमा भने रोचक भेटियो । उक्त स्थानमा विभिन्न व्यक्तिहरु खाजा खाने तथा चिया पिउँदै थिए भने खाजा खाईसकेका फोहोर सामाग्रीहरु भने टेलिटकको कागतको बक्स ( जसलाई कार्टुन बक्स भन्ने गरिन्छ) मा राखिरहेका थिए । अर्थात टेलिटकको बक्सलाई डस्टबिनको रुपमा माइक्रोम्याक्सको पहिलो शोरुममा प्रयोग गरिएको थियो ।
कुनै समय कलर्सको ब्राण्ड शोरुमको रुपमा संचालन भएको भर्जिन मोबाइल सपमा माइक्रोम्याक्सले नयाँ शोरुम स्थापना गरेपछि टेलिटकको मोबाइल ब्राण्डको ‘भ्यालू’ उक्त सपमा सकिएको हो कि भन्ने भान भइरहेको थियो । त्यस्तो दृश्य देखेका केहि संचारकर्मीहरु पनि रमाइलो मानेर कुराकानी गर्दै थिए ।
त्यस्तै रमाइलो अर्को विषय पनि छ भर्जिन मोबाइलको बाहिरपट्टि पसल माथि कलर्सको निकै ठूलो होर्डिंग बोड राखिएको छ, जुन निकै पुरानो भएको अनुमान गर्न सकिन्छ । किनकी त्यसमा अंग्रेजीमा लेखिएको मोबाइल (Mobile) भन्ने शब्दमा एल (l) अक्षर नै झरिसकेको छ । तर सोहि होर्डिंग बोर्डको मुनी माइक्रोम्याक्सले आफ्नो आधिकारीक शोरुम संचालनमा ल्याएको छ, जुन टाढाबाट हेर्दा कलर्सको शोरुम जस्तो देखिन्छ ।
यी दृश्यलाई सामान्य नै हुनसक्ला, टेलिटकले आफ्नो ब्राण्डको मोबाइल ढुवानी गर्न प्रयोग गरेको खाली बक्सलाई फोहोर फाल्ने सामाग्री (डस्टबिन) को रुपमा प्रयोग गरिनुमा । दुई मोबाइल ब्राण्डबिच एकले अर्कोलाई आफु अगाडि भएको देखाउन उच्च प्रतिस्पर्धा गरिरहेका हुन् की ?
यस्तै प्रकारको दृश्य केहि समय अगाडि भारतमा पनि देखिएको थियो । भारतमा इकर्मश साइट अम्याजन डटकमको डेलिभरीमा प्रयोग गरिने बक्सलाई अर्को इकमर्श साइट फ्लिपकार्टको रिशेप्सनमा डस्टबिनको रुपमा प्रयोग गरिएको थियो र उक्त तस्विर भारतभर इन्टरनेटमा भाइरल भएको थियो । दुवै प्रतिस्पर्धि कम्पनीहरुबिच इकमर्शमा चर्को प्रतिस्पर्धा रहेको भारतीय संचारमाध्यमहरुले त्यसबेला जनाएका थिए भने दुबै कम्पनीहरुबिच ट्विटरमार्फत जुहारी नै चलेको थियो ।
त्यस्तै दृश्य नेपाली मोबाइल बजारमा पनि देखिनुले स्थानिय बजारमा विभिन्न मोबाइल ब्राण्डहरुबिच उच्च प्रतिस्पर्धा रहेको भान हुन्छ । यसले नेपाली मोबाइल ग्राहकहरुलाई फाइदा पुर्याउँछ की पुर्याउँदैन त्यो हेर्नको लागि भने केहि समय कुर्नु नै पर्दछ ।
-अनुज राज
प्रकाशित: ८ बैशाख २०७२, मंगलवार