Technology Khabar ७ बैशाख २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, ७ वैशाख । ज्योती ग्रूप अन्तरगतको स्टार्क टेक कम्पनीले स्पाइसका नयाँ मोडलहरु ल्याउने तयारी गरेको छ । केहि महिना अघि मात्र स्पाइस ब्राण्डको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन स्मार्टफोन भित्र्याएको कम्पनीले केहि दिनभित्रै स्पाइसका थप नयाँ मोडलहरु भित्र्याउन लागेको हो ।
स्टार्क टेकले न्यून आय भएका तथा मध्यम वर्गका स्मार्टफोन खरिदकर्तालाई ध्यानमा राखेर फीचरफोनदेखि स्मार्टफोन रेन्जसम्मका फोनहरु ल्याउन लागेको जानकारी दिएको छ । कम्पनीका मोबाइल डिभिजन म्यानेजर कुमार प्रसाद घिमिरेले विभिन्न प्रकार र श्रेणीका ९ मोडलका सेट बजारमा ल्याउन लागेको जानकारी दिए । घिमिरेका अनुसार फीचरफोनमा ५ वटा मोडल, टच स्क्रीनमा एउटा मोडल तथा स्मार्टफोन श्रेणीमा ३ वटा मोडल ल्याउन लागेको हो ।
कम्पनीका अनुसार फीचर फोनमा सबैभन्दा सस्तो एम सिरिजअन्तरगत ए ५००७ को मूल्य १ हजार ४ सय ८० रुपैंया तोकिने छ भने अधिकतम २ हजार ६ सय ८० रुपैंया तोकिनेछ । टचस्क्रीन सिरिजमा कम्पनीले एम ६११२ मोडलको ३ हजार ८ सय ५५ रुपैंया तोकेको छ भने स्मार्टफोन सिरिजमा एमआई ३६२ मोडलको ५ हजार ८ सय ५० रुपैंया, एमआई ४३१ मोडलको ६ हजार ८ सय ५० रुपैंया तथा एमआई ४४१ मोडलको ७ हजार ८ सय ८० रुपैंया तोकेको छ ।
स्टार्क टेक कम्पनीले यसमध्ये स्मार्टफोनहरुको खरिमा सिलिकन कभर, ब्याक कभर मोडलअनुसार निशुल्क दिने जानकारी दिएको छ ।
यसअघि नै कम्पनीले नेपालका लागि स्पाईस मोबाइलको आधिकारीक बितरक भएको घोषणा गर्ने कार्यक्रममा नै स्पाइसका थप सिरिज ल्याउने घोषणा गरेको थियो ।
कम्पनीले पहिलो चरणमा गूगलको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन ड्रिम यूनो ल्याईसकेको छ, जुन हाल गूगलको ललिपप ५.१ मा अपग्रेड भइसकेको कम्पनीले जानकारी दिएको छ । स्पाइसको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन नेपाल भित्र्याएर ज्योती ग्रूपले मोबाईल व्यवसायमा हात हालेको हो ।
प्रकाशित: ७ बैशाख २०७२, सोमबार