Technology Khabar २७ चैत्र २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २७ चैत । सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५ आजदेखि शुरु भएको छ । सिटिसी मलमा अवस्थित सिटिसी मोबाइल बजारको ग्राण्ड ओपनिङ्ग तथा नयाँ बर्ष २०७२ को अवसर पार्दै सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५ शुरु गरिएको आयोजकहरुले बताएका छन् ।
उदघाटन समारोहमा सूचना तथा संचार मन्त्री डा मिनेन्द्र रिजालले मोबाइलको बजार हरेक दिन बढ्दो क्रममा रहेको बताए । उनले अहिले शक्तिशाली कम्प्यूटरहरुले गर्ने काम पनि अहिलेका स्मार्टफोनले गर्न थालेको भन्दै स्मार्टफोनको युग आएको बताए ।
कार्यक्रममा सामसुंग मोबाइलका आधिकारित बितरक आईएमएसका अध्यक्ष दिपक मलहोत्राले नयाँ मोबाइल बजार न्यूरोडमा रहेको मोबाइलको बैकल्पिक बजार भएको राम्रो भन्दै यसलाई निरन्तरता दिनु महत्वपूर्ण भएको बताए ।
त्यसैगरी सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामांगले थप नयाँ मल बनाउने योजना रहेको जानकारी दिँदै मोबाइल व्यवसायीहरुले आफुहरुबिच अस्वस्थ प्रतिस्पर्धा गरेर व्यवसाय सिध्याउने भन्दा पनि नयाँ योजनाका साथ व्यवसाय विस्तार गर्नुपर्ने भनाई व्यक्त गरे ।
तेस्रो, चौथो र पाँचौ तल्लामा मोबाइल पसल तथा सर्भिस सेन्टर स्थापना गरि यस मललाई मोबाइल तथा इलेक्ट्रोनिक्स हबका रुपमा अघि बढाइएको आयोजक सिटिसी मोबाइल बजारले जानकारी दिएको छ । “सुचना प्रविधीको नयाँ आधार, सबैको लागि सिटिसी मोबाइल बजार” मुख्य नाराका साथ सुरु गर्न लागिएको मोबाइल एक्स्पो २७ चैत देखि बैशाख ५ गतेसम्म चल्नेछ ।
हरेक घण्टामा ५५ प्रतिशतको क्यास ब्याक अफर, प्रत्येक मोबाइल खरिदमा ८ देखि ५५ प्रतिशत छुट, तथा हरेक दिन ५ वटा मोबाइल लक्की ड्र मार्फत बितरण गरिने ब्यबस्था गरिएको जानकारी दिईयो । एसएलसी दिएर बसेका बिद्यार्थीहरुलाई प्रबेशसँगै लक्की ड्र मा समाबेश गराइनुका साथै उनीहरुलाई बिशेष छुटको ब्यबस्था गरिएको छ । एसएलसी दिएर बसेका बिद्यार्थीहरुले प्रबेश सँगै लक्की ड्र मा समाबेश गरिने तथा लक्की ड्र मार्फत प्रत्येक दिन १ वटा मोबाइल बितरण गरिने दाबी गरिएको छ । यसैगरि टेलिकम्युनिकेशन सेबा प्रदायक संस्था एनसेलले एक सीम किन्दा अर्को सीम सित्तैमा दिने तथा केहि उपहार किट बितरण गर्ने भएको छ ।
सामसुंग मोबाइलले एक्सपोको अवसर पारेर सामसुंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ६ र एस ६ एजको बुकिंगमा विभिन्न उपहार दिने जानकारी दिएको छ ।
त्यसैगरी एक्सपोको अवधिपारेर कलर्सले पावर ११६ र पावर ११७ मोडलका स्मार्टफोन ल्याउने भएको छ भने जियोनीले नयाँ स्मार्टफोन एस ७ सार्वजनिक गर्दैछ । हुवावेले पनि नयाँ मोडलका स्मार्टफोनहरु ल्याउने जानकारी दिएको छ भने माइक्रोम्याक्सले नयाँ ट्याब पी ६६६ तथा नयाँ स्मार्टफोनको बजार प्रबद्र्धन गर्नेछ ।
“नझुक्याउने पक्का पर्ने” ग्राण्ड अफरसहित सुरू हुन लागेको मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट, मोबाइल एसेसरिजको बिक्री बितरण गरिने बताईएको छ । मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने अनुमान आयोजकको छ ।
प्रकाशित: २७ चैत्र २०७१, शुक्रबार