फेल्ट उद्योगको छैठौं वार्षिकोत्सव सम्पन्न

Technology Khabar २५ चैत्र २०७१, बुधबार

फेल्ट उद्योगको छैठौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं ।

काठमाडौं, २५ चैत । फेल्ट उद्योग संघ नेपालले फेल्ट उद्योगको प्रबद्र्धनमा सरकारको चासो आवश्यक रहेको जनाएको छ । शुक्रबार सम्पन्न संघको छैठौं वार्षिकोत्सवमा अध्यक्ष नरेशलाल श्रेष्ठले ५० हजार भन्दा बढिले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको र अर्बौ रुपैयाँ बराबरको सामाग्री निर्यात गरिरहेको उद्योगलाई सरकारले वास्ता नगरेको गुनासो गरे । न्यूजिल्याण्डबाट भेडाको कच्चा पदार्थ ल्याएर बस्तु बनाई संघले युरोप, अमेरिका, जापान लगायतका मुलुकमा निर्यात गर्दै आएको जनाएको छ ।

अध्यक्ष श्रेष्ठले स्वदेशमै पनि कच्चा पदार्थ बनाउन सकिने र त्यसका लागि सरकार एवं निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले गलैचा उद्योगको विकल्पको रुपमा फेल्ट उद्योग रहेको भन्दै यस उद्योगलाई प्राथमिक उद्योगको रुपमा राखिनुपर्ने बताए । उनले उद्योग सरकारको प्राथमिकतामा नपरेको भन्दै न्यायलय, अख्तियार जस्ता निकायले पनि उद्योगको विषयमा नबुझेको आरोप लगाए । उनले मन्त्रालयको सिफारिसमा हरेक वर्ष मंसिर ९ गतेलाई उद्योग दिवस घोषणा गरिएको जानकारी गराए । मुलुकको औद्योगिक क्षेत्रमा विशिष्ट योगदान गरेकालाई सोही दिन ‘विशिष्ट औद्योगिक व्यक्ति’ (आइआइपी) घोषणा तथा पुरस्कृत गर्ने तयारी उद्योग मन्त्रालयले गरिरहेको मन्त्री बस्नेतले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले फेल्ट उद्योगको बारेमा धेरैलाई जानकारी नभएको भन्दै मुलुकको अर्थतन्त्रमा योगदान पुर्याइरहेको उद्योगको प्रबद्र्धन आवश्यक रहेको बताए । उनले मुलुकको अर्थतन्त्रमा धेरै प्रभाव पारेका स्वदेशी उद्योगमा आँखा लाग्दा बन्द भईसकेको भन्दै यो उद्योगलाई पनि आँखा लाग्नबाट जोगाउनुपर्ने बताए ।

संघले आर्थिक वर्ष २०६९/७० मा मात्रै ५३ करोड ५० लाख रुपैयाँ बढिको फेल्ट सामाग्री निर्यात गरेको जनाएको छ । कार्यक्रममा संघले फेल्ट उद्योगमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका विभिन्न कम्पनीहरुलाई सम्मान पनि गरेको थियो ।

Sajilo Visa

प्रकाशित: २५ चैत्र २०७१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार