Technology Khabar २३ चैत्र २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, चैत २२ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले भारतीय बजारमा आफ्नो नयाँ स्मार्टफोन ईलाइफ एस ७ लन्च गरेको छ । कम्पनीले भारतीय बजारलाई लक्षित गरेर सार्वजनिक गरेको नयाँ स्मार्टफोन ईलाइफ एस ७ को मूल्य ४ सय ४ अमेरिकी डलर अर्थात २४ हजार ९ सय ९९ भारु तोकेको छ । भारतमा यो स्मार्टफोन कालो, सेतो तथा निलो रंगहरुमा उपलब्ध हुनेछ ।
यता जियोनीको नेपालका लागि आधिकारीक बिक्रेता टेलिटक प्रालिले नेपालमा पनि यो स्मार्टफोन अप्रिल १२ तारिख (२९ गते) देखि नेपाली बजारमा ल्याउने जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक संजय अग्रवालले एक कार्यक्रममा नयाँ वर्षको अवसर पारेर जियोनी ईलाइफ एस ७ सार्वजनिक गर्ने बताएका थिए । जियोनीले नेपालमा भित्र्याउन लागेको यो स्मार्टफोनको बजार मूल्य ३८ हजार रुपैंया तोकेको कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए ।
कम्पनीले ल्याउन लागेको फ्ल्यागशिप फोन ईलाइफ एस ७ भारतीय बजारमा भन्दा नेपालमा सस्तो हुने भएको छ । कम्पनीका प्रबन्ध निर्देशकले जानकारी दिएको आधारलाई मान्दा नेपालमा यो फोन ३८ हजार रुपैंयामा किन्न सकिनेछ भने भारतमा यहि फोन ३९ हजार ९ सय ९८ रुपैंयाको हाराहारीमा पर्ने देखिन्छ । बजार मूल्यको आधारमा नेपालमा यो फोन १ हजार ९ सय ९८ रुपैंया सस्तो पर्ने हुन्छ ।
यसअघि कम्पनी स्रोतले अप्रिल ७ तारिखमा ईलाइफ एस७ नेपालमा सार्वजनिक गर्ने जानकारी दिएको थियो ।तर विविध कारण ढिलाई भएको बताईएको छ ।
त्यसैगरी कम्पनीले जियोनी स्मार्टफोनको बजार प्रबद्र्धनका लागि विभिन्न किसिमका आकर्षक अफरहरु पनि ल्याईरहेको छ । कम्पनीले बाइ एण्ड वीन अफर ल्याएको छ । यो अफर अन्तरगत जियोनीका कुनैपनि स्मार्टफोन यहि अप्रिल ९ तारिखसम्म खरिद गरेमा जियोनीको ईलाइफ एस ५.१ उपहार जित्न सकिने जनाएको छ ।
यसको लागि मोबाइल खरिदकर्ताले जियोनीको मोबाइल खरिद गरेपछि पाएको बिलको फोटोकपी र फोन नम्बर ताम्राकार कम्प्लेक्समा रहेको ड्रपबक्समा खसाल्नुपर्नेछ । यो स्कीमको अप्रिल १० तारिखमा ताम्राकार कम्प्लेक्समा विजेताको घोषणा गर्नेछ ।
ईलाइफ एस ७ मा ५.२ इन्चको १९२०X१०८० रिजोल्यूशन भएको सूपर एमोलेड डिस्प्ले राखिएको छ । यसमा मिडिया टेकको १.७ गीगाहर्जको अक्टा कोर प्रोसेसर राखिएको छ । नयाँ स्मार्टफोनमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।
नयाँ स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।
यो स्मार्टफोनमा फोरजी सपोर्ट गर्दछ भने एन्ड्रोयडको ललिपप ५.० मा आधारित रहेको छ । जियोनीको ईलाइफ एस ७ को मोटाई ५.५ मिलिमिटर मात्र रहेको छ जसलाई कम्पनीले सूपर स्लिम भनेर उल्लेख गरेको छ ।
ग्याजेट विश्लेषकहरुले यो स्मार्टफोन निकै पातलो र हलुका भनेर बताएका छन् । मूख्य गरि यो स्मार्टफोनको स्क्रीन निकै स्तरीय रहेको बताईएको छ ।
यो पनि हेर्नुहोस्-
प्रकाशित: २३ चैत्र २०७१, सोमबार