Technology Khabar १५ चैत्र २०७१, आईतवार
काठमाडौं ।
काठमाडौं, १५ चैत । गूगलले सार्वजनिक गरेको एन्ड्रोयड वान (Android One) मा आधारित स्मार्टफोनहरुमध्ये माइक्रोम्याक्सको स्मार्टफोनले ललिपप ५.१ मा अपडेट हुने अवसर पाएको छ ।
गूगलको एन्ड्रोयड वानमा आधारित स्मार्टफोनहरुमध्ये माइक्रोम्याक्स क्यानभास ए १ (Micromax Canvas A1) ले एन्ड्रोयडको पछिल्लो अपरेटिंग सिष्टम ललिपपको ५.१ भर्सनमा अपडेट हुने अवसर पाएको हो ।
अब माइक्रोम्याक्सको क्यानभास ए १ स्मार्टफोन प्रयोगकर्ताहरुले ललिपपमा अपडेट हुनको लागि सेटिंगमा गएर ओटिए (OTA) अपडेटको लागि म्यानूअल चेक गर्नुपर्ने हुन्छ । माइक्रोम्याक्सले अपडेट गर्दाको समयमा मोबाइल फोन बन्द नहोस भनेर कम्तीमा ३० प्रतिशत ब्याट्री हुनुपर्ने सुझाव पनि दिएको छ ।
माइक्रोम्याक्सको क्यानभास ए १ स्मार्टफोनमा ४.५ यन्चको एफडब्लूभिजीए स्क्रीन रहेको छ भने यो चीपसेट मिडिया टेक एमटी ६५८२ मा चल्दछ ।
यो स्मार्टफोनमा १ जीबीको र्याम छ भने ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोनमा १७०० एमएएच को ब्याट्री रहेको छ ।
एन्ड्रोयड ललिपप ५.१ भर्सनमा एचडी भ्वाइस कलिंग, दोहोरो सिम लगायतका केहि अन्य फीचरहरुमा परिवर्तन हुन सक्नेछन् । यसका साथै आन्तरिक स्टोरेजमा माइक्रोम्याक्सका विशिष्ट विशेषताहरु तथा संचालन प्रणालीले डिभाइस तथा अपरेटिंग सिष्टमलाई अधिक अनुकूलित बनाउने अनुमान गरिएको छ ।
केहि समय अघि गूगलले सस्तो स्मार्टफोनको रुपमा एन्ड्रोयड वान अपरेटिंग सिष्टममा आधारित भएका फोनहरु तीन वटा कम्पनीहरु माइक्रोम्याक्स, कार्बन र स्पाईससँग मिलेर बजारमा ल्याएको थियो ।
यी फोनहरु बजेट फोनको रुपमा आएका थिए हुन करिब १०० अमेरिकी डलर भन्दा तल मूल्य निर्धारण गरिएको थियो । एन्ड्रोयड वानमा आधारित स्मार्टफोनहरु भारतमा सबैभन्दा पहिले सार्वजनिक गरिएको थियो भने त्यसपछि बंगलादेश, नेपाल, श्रीलंका, इन्डोनेशियालगायतका मुलुकहरुमा बिक्री शुरु गरियो ।
माइक्रोम्याक्सको ए १ स्मार्टफोन सायद मिडिया टेक फोनमध्ये विश्वमा नै पहिलो स्मार्टफोन हो जसले एन्ड्रोयडको ललिपप ५.१ भर्सनमा अपडेड हुने अवसर पाएको छ ।
एन्ड्रोयड वानमा आधारित कार्बन र स्पाइसका स्मार्टफोनहरु नेपालमा बिक्री भईरहेपनि एन्ड्रोयड वानमा आधारित माइक्रोम्याक्सको क्यानभास ए १ स्मार्टफोन नेपालमा भने उपलब्ध छैन् । माइक्रोम्याक्सका फोनहरु नेपालमा पशुपति ट्रेड लिंकले आयात तथा बिक्री गर्दै आएको छ ।
प्रकाशित: १५ चैत्र २०७१, आईतवार