Technology Khabar २८ फाल्गुन २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, २८ फागुन । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा चैत्रको पहिलो हप्ता काठमाडौंको भृकुटीमण्डपमा पुष्प ब्यापार मेला हुने भएको छ । “स्वच्छ वातावरण र आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ हुने यो १८ औं फ्लोरा एक्सपोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, कृषिऔजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहनेछन् ।
मेलामा व्यवसायिक स्टल ६१ वटा, सूचनामुलक १० वटा र फूलबिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा, ल्याण्ड स्केपिङ्गको ४ वटा गरी जम्मा ७८ वटा प्रदर्शनी कक्ष रहने फ्यानका महासचिब दिलिप बादेले जानकारी दिए ।
साथै मेलामा सहभागि भएका बिभिन्न नर्सरी व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाको स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ ।
सोहि अवधिमा एक दिने पुष्प सम्बन्धि गोष्ठि÷सेमिनारको समेत आयोजना गर्न लागेको र यसबाट धेरै भन्दा धेरै पुष्प व्यवसायीहरु लाभान्वित हुने फ्यानको बिश्वास रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।
चैत्र७ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने पुष्प मेलामा पुष्प व्यवसायी कम्पनी÷फर्महरुको स्टल रहने बताउँदै फ्यान अध्यक्ष लोक नाथ गैरेले मेलामा बिदेशी ब्यबशायीहरुको पनि सहभागिता रहने जानकारी दिए ।
२०५१ सालबाट फ्यानले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर पुष्प प्रदर्शनी तथा व्यापार मेलाहरुको आयोजना गर्दैै आएको छ ।
प्रकाशित: २८ फाल्गुन २०७१, बिहीबार