Technology Khabar २२ फाल्गुन २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २२ फागुन । अर्थमन्त्री डा रामशरण महतले आर्थिक बर्ष २०७२।७३ को बजेट आगामी वैशाखभित्र पेश गर्नेगरी मन्त्रालयस्तरीय तयारीका कामहरु तिब्रताका साथ अगाडि बढाउन आफ्नो मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
अर्थमन्त्रालयअन्तर्गतका कर्मचारीहरुलाई बोलाएर उनले सो निर्देशन दिएका हुन् । उनले मुख्यरुपमा हाल शुरु गरिएका विकास निर्माण तथा पूर्वाधारका कामहरुलाई पूरा गर्दै जाने सोचका साथ आगामी आर्थिक बर्षको बजेट निर्माण गर्ने अवधारण सुनाएका थिए । उनको भनाई थियो, ‘शीघ्र बजेट भनेर जहिले पनि भन्ने तर प्रस्तुत गर्ने समय असारमा नै पुग्ने गरेको र विकास निर्माणका कामहरुको खर्च हुन नसकिरहेको अवस्था छ । अहिले फेरि मन्त्रालयको तर्फबाट हामीले वैशाखभित्रै बजेट प्रस्तुत गर्ने तयारी अवस्थामा रहनुपर्छ । हाम्रो प्रयास शीघ्र बजेट प्रस्तुत गर्नेमा हुनुपर्छ ।’
उनले बजेट निर्माणमा कार्यसूची बनाएरै तयारीका कामहरु अगाडि बढाउनुपर्नेमा जोड दिए । अर्थमन्त्री डा महतले अन्य मन्त्रालयसँग कार्यक्रम र बजेटको प्रस्ताव माग्न पनि निर्देशन दिएका थिए । जथाभावी कार्यक्रमहरु समावेश नगर्न भन्दै उनले संभाब्यता अध्ययन भैसकेका र कार्यान्वयनमा आउन योग्य कार्यक्रम अगाडि बढाउनुपर्ने खाँचो औल्याए । उनको भनाई थियो, ‘टुक्रे कार्यक्रमहरुलाई बजेटमा धेरै ठाउँ नदिनुहोस ।’
काठमाडौ र तराईलाई जोड्ने द्रतमार्गको सम्झौता अगाडि बढाउनुपर्ने भन्दै उनले भने, ‘सम्झौता सफल भएन भने सरकार आफैले पनि यो काम गर्नुपर्छ ।’ सो अवसरमा चालु आर्थिक बर्षको पछिल्लो समयमा विकास बजेट खर्च बढेको जानकारी दिइएको थियो ।
अर्थमन्त्रीले विकास निर्माणका लागि छुट्याएको बजेट निकासामा अर्थमन्त्रालयको तर्फबाट कुनै ढिलाई नगर्न भन्दै खर्च हुन सके नसकेको निगरानी गर्न निर्देशन दिए ।
राजस्व असूलीको लक्ष्य पुग्ने भएपनि भ्याट इन्फोर्समेन्टलाई तिब्रता दिन उनले निर्देशन दिए । सो अवसरमा भारतको सहयोगलाई कटाउँदा पनि वैदेशिक सहायता दोब्बरले बढेको जानकारी दिइएको थियो । अर्थमन्त्री डा महतले आर्थिक सुधारसँग सम्वन्धित कानूनहरुलाई हिउदे अधिवेशनमा प्रस्तुत गर्नेगरी सम्पन्न गर्न र अन्य मन्त्रालयहरुले सुझाव मागेका त्यस्ता विषयमा शीघ्र सुझाव प्रस्तुत गर्न पनि आग्रह गरेका छन् । सो अवसरमा दिइएको जानकारी अनुसार आर्थिक सुधारसँग सम्वन्धित करिव एक दर्जन विधेयकहरु तयार भै संसदमा पुगिसकेका छन । छलफलका क्रममा अर्थसचिव सुमनप्रसाद शर्मा, मन्त्रालय अन्तर्गतका सबै महाशाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रकाशित: २२ फाल्गुन २०७१, शुक्रबार