Technology Khabar १८ फाल्गुन २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, १८ फागुन । नेपाल र फिलिपिन्सबिच आर्थिक क्षेत्रमा सहकार्य गर्ने उदेश्यका साथ नेपाल फिलिपिन्स चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रिज (एनपीसीसीआई) स्थापना भएको छ । दुई मुलुकबिचका सबै क्षेत्रहरुमा द्धिपक्षिय सम्बन्धलाई प्रोत्साहन दिएर विकासको उचाईमा पुर्याउने भन्दै आज एक कार्यक्रमका बिच (एनपीसीसीआई) उदघाटन गरियो ।
कार्यक्रममा नेपालका लागि फिलिपिन्सका अवैतनिक महाबाणिज्य दूत सुरज बैद्यले नेपालमा वैदेशिक लगानीको संभावनाको खोजी बढिरहेको बेला आर्थिक विकासको संभावना खोज्न उक्त चेम्बरले सहयोग पुर्याउने विचार व्यक्त गरे । उनले नेपालको टेक्सटायल र हस्तकला फिलिपिन्स पठाउन सकिने भन्दै त्यसतर्फ अग्रसर हुन सम्बन्धित निकायहरुलाई आग्रह गरे ।
एनपीसीसीआईले नेपाली र फिलिपिनो उद्योगी, व्यापारी, अर्थशास्त्री र अन्य पेशाकर्मीहरु बिच सम्पर्क र सह संचालनलाई बढावा दिने, उद्योग, व्यापार, प्रविधि हस्तान्तरण र संयुक्त उपक्रमलाई प्रबद्र्धन गर्ने लगायतका कामहरु गर्ने उदेश्य राखेको छ ।
रोजेलीना बुढाथोकीको अध्यक्षतामा एनपीसीसीआईको ७ सदस्यिय कार्यसमिती पनि स्थापना भएको छ ।
प्रकाशित: १८ फाल्गुन २०७१, सोमबार