गुणस्तरीय हस्तकला उत्पादनमा जोड

Technology Khabar १७ फाल्गुन २०७१, आईतवार

गुणस्तरीय हस्तकला उत्पादनमा जोड

काठमाडौं ।

काठमाडौं, १७ फागुन । हस्तकलाका सामाग्री निकासीको क्रममा पुरातत्व जाँचपास प्रक्रिया, प्रस्तावित सेवा शुल्क तथा विद्यमान समस्याहरुको सहजिकरणका सम्बन्धमा हस्तकला निकासी र पुरातत्व जाँचपास विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।

हस्तकला महासंघ र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सयुक्त आयोजनामा भएको गोष्ठीमा वाणिज्य तथा आपूर्ति राज्य मन्त्री गिरी बहादुर के.सीले नेपाल सरकार हस्तकला क्षेत्रको विकास, विस्तार र प्रोत्साहनको लागि हरदम सहयोग गर्न तयार रहेको बताए । साथै उनले हस्तकला क्षेत्रको प्रोत्साहनको लागि उत्पादन तथा गुणस्तरमा जोड दिनु पर्ने बताए ।

महासंघका अध्यक्ष हेमरत्न शाक्यले व्यापार घाटा आकासिदैं गई आयात र निर्यात बीचको दुरी अत्यन्तै फराकिलो हुँदै गएको वर्तमान अवस्थामा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने हस्तकला जस्ता निर्यातमुलक उद्योगहरुको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण स्थान रहेको बताए ।

पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले हस्तकला क्षेत्रको निकासीका लागि निर्यातकर्ताहरुलाई पर्ने समस्याका लागि स्वयं निकासीकर्ता जागरुक हुनुपर्नेमा जोड दिए । सो क्रममा उनले निकासीकर्ताको सुझाव अनुसार नै विभागले क्यूरियो जाँचपासमा शुल्क लगाउने प्रतिबद्धता समेत जनाए ।

गोष्ठीमा वाणिज्य तथा आपूर्ति सचिव नारायण गोपाल मलेगोले नेपाली हस्तकला क्षेत्रले अन्तरिक बजारमा रोजगारीको अवसरमा बृद्धिका साथै गरिबी निबारणमा सकारात्मक सहयोग गर्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिए ।

सो कार्यक्रममा हस्तकलासंग सम्बन्धीत उद्यमी, निकासीकर्ता, संघ संस्थाका प्रतिनिधि गरी ६० जनाको सहभागिता रहेको थियो ।

easy care

प्रकाशित: १७ फाल्गुन २०७१, आईतवार