Technology Khabar ११ फाल्गुन २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ११ फागुन । इजरायलको एक मोबाइल निर्माता कम्पनीले विकलांगहरुका लागि पहिलो मोबाईल फोन तयार पारेको छ । यो स्मार्टफोन प्रयोग गर्न हातको प्रयोग गर्नु आवश्यक छैन् ।
इजरायलको एक समाचार पत्र ‘द टाइम्स अफ इजरायल’मा प्रकाशित एक रिपोर्टअनुसार मोबाइल निर्माणको क्षेत्रमा पुरै नयाँ कम्पनी ‘सेसामे इनेबल’ ले यस्ता विकलांग व्यक्तिहरुका लागि एक विशेष स्मार्टफोनको निर्माण गरेको छ, जसको हात तथा पाखुराहरुले काम गर्न सक्दैन् ।
एन्ड्रोयडमा आधारित सेसामेको यो स्मार्टफोन टाउको घुमाउँदा आउने संकेतको आधारमा काम गर्दछ ।
यो स्मार्टफोनमा रहेको क्यामराले प्रयोगकर्ताको टाउको हल्लाउँदा आउने संकेतलाई समाउन सक्दछ । यही संकेतको आधारमा मोबाइल प्रयोगगर्ने विकलांग व्यक्तिले स्मार्टफोनको स्क्रीनमा कर्सरलाई आफ्नो चाहना अनुसार घुमाउन सक्दछ ।
यो कर्सर वास्तवमा अदृश्य औंलाको रुपमा उपयोग हुन्छ जसले आफ्नो प्रयोगकर्तालाई अन्य सामान्य मोबाइलमा हरेक चिज प्रयोग गरेजस्तै सुविधा उपलब्ध गराउँछ ।
कम्पनीले तयार पारेको यो स्मार्टफोनको मूल्य एक हजार डलर रहेको छ । हालै मात्र यो मोबाइललाई १० लाख डलर राशि भएको पुरस्कार ‘भेरिजोन पावरफुल आन्सर्स’ प्रदान गरिएकोछ ।
सबैभन्दा रोचक पक्ष भनेको यो स्मार्टफोन विकसित गर्ने व्यक्ति जियोरा लिवने आफैंपनि विकलांग छन् । अब आफ्ना साथिहरुद्धारा छानिएका ३० जना विकलांग व्यक्तिहरुलाई यो स्मार्टफोन दिने उनको योजना रहेको छ ।
लिवनेले भने, ‘यो फोनको माध्यमबाट मेरो जीवन पाषाण कालबाट सिधै स्मार्टफोनको युगमा आईपुगेको छ ।’ लिवनेले यो स्मार्टफोनको मद्धतबाट आफ्ना नातेदार तथा साथिहरुलाई लगातार एसएमएस तथा ह्वाट्सएप संदेश पठाईरहन्छन् ।
अहिलेसम्म पाँच जना विकलांग व्यक्तिहरुलाई यो स्मार्टफोन दिईएको छ, जसमध्येका एक इजरायलका एक पूर्व सैनिक पनि रहेका छन्, जो सन् १९७६ मा घाइते भएका थिए । एजेन्सी
प्रकाशित: ११ फाल्गुन २०७१, सोमबार