Technology Khabar ९ फाल्गुन २०७१, शनिबार
काठमाडौं ।
काठमाडौं, ९ फागुन । कार्बोन मोबाइलको नेपालका लागि वितरक एलाइड ट्रेड लिङ्क इन्टरनेशनलले कार्बोन स्पार्कल भी मोडल बजारमा भित्र्याएको छ । कार्बोन स्पार्कल भीमा एन्ड्रोइड वन सफ्टवेयर र ब्याट्री लामो समयसम्म चल्ने विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।
कार्बोन स्पार्कल भीको गुगलसँग साझेदारीले गर्दा उच्च प्रदर्शन, कम खर्चमा एन्ड्रोइड प्रयोग गर्न सकिने सुविधा नेपालमा ल्याउदै गरेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त मोडल हरेक वर्गको मोबाइल प्रयोगकर्ताका लागि उपयुक्त हुनुको साथै सफ्टवेरमा ग्यारेन्टी पनि रहेको कम्पनीले जानकारी गराएको छ ।
कार्बोनको स्पार्कल भीमा एन्ड्रोयडको किटक्याट ४.४ सिष्टम राखिएको छ जसलाई ललिपप ५.० मा अपग्रेड गर्न सकिन्छ । दुई सीम प्रयोग गर्न सकिने यसमा १७०० एमएएच को ब्याट्री रहेको छ । यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर क्यामरा तथा २ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ भने १ जीबीको र्याम तथा ४ जीबीको इन्टरनल मेमोरी रहेको छ ।
१.३ गीगाहर्जको क्वाड कोर प्रोसेसरयुक्त यो फोनको बजार मूल्य ११ हजार ८ सय ९९ रुपैंया रहेको कम्पनीले जानकारी दिएको छ ।
एलाइड ट्रेड लिङ्क इन्टरनेशनल प्रा.लि.ले आउने दिनहरुमा अझै नयाँ सुविधाहरु भएको मोबाइल फोनहरु बजारमा ल्याउने जनाएको छ ।
प्रकाशित: ९ फाल्गुन २०७१, शनिबार