Technology Khabar ७ फाल्गुन २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, ७ फागुन । ताम्राकार कम्प्लेक्समा आयोजना भईरहेको सामसुंग मोबाइल महोत्सव २०१५ पावर्ड वाई हुवावेको छैठौं दिनसम्म ग्राहकहरुको अधिक चहलपहल देखिएको छ । ताम्राकार कम्प्लेक्सभित्रका हरेक पसलमा मोबाइल खरिद गर्ने ग्राहकहरुको भिड देखिएको छ भने सर्भिस सेन्टरमा पनि निकै घुँईँचो रहेको छ ।
महोत्सव अवधिभर ग्राहकहरुले महोत्सवमा विभिन्न मोबाईल तथा एसेसरिजहरुको खरिदमा छुट प्राप्त गरेको बताईएको छ । महोत्सवको अवसरमा मोबाईल खरिद गर्ने ग्राहकहरुलाई अधिक भन्दा अधिक छुट दिने व्यवस्था मिलाएको कम्प्लेक्सका व्यवस्थापक श्याम महर्जनले जानकारी दिए । महोत्सवमा ग्राहकलाई हरेक ब्राण्डको मोबाईल खरिदमा सकेसम्म अधिकतम छुट उपलब्ध गराईएको छ,’ उनले भने । महोत्सवभर विभिन्न मोबाईल कम्पनीहरुले सबैजसो मोडलहरुमा अधिकतम छुट दिएका छन् ।
महोत्सवमा विभिन्न मोबाइल तथा एसेसरिजमा दिईएको छुटका कारण ग्राहकहरु आकर्षित भएका व्यवसायीहरुको भनाई छ ।
महोत्सवको अवसर पारेर ग्राहकहरुले पुरानो मोबाईल बिक्री गरेर नयाँ स्मार्टफोन खरिद गर्ने क्रम पनि बढिरहेको छ । महोत्सवमा अधिकांश ग्राहकहरुको पहिलो रोजाई स्मार्टफोन नै हुने गरेको सामसुंग मोबाईल इलेक्ट्रोनिक्सका संचालक गुरुदत्त शर्माले बताए । उनले महोत्सवले ग्राहकहरुलाई नयाँ मोबाईल खरिद गर्ने अवसर प्रदान गरेको हुँदा धेरै ग्राहकहरुले महोत्सवमा नयाँ मोबाईल खरिद गरेको दाबी गरे ।
नेपालको एक मात्र र पहिलो मोबाईल कम्प्लेक्सको रुपमा रहेको ताम्राकार कम्प्लेक्सले ग्राहकहरुलाई आकर्षित गर्न समय समयमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेपनि अहिलेको जस्तो ग्राहकहरुको आकर्षण पहिले नदेखिएको टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । महोत्सव विभिन्न मोबाई खरिद गर्ने तथा छुटको उत्सव जस्तो देखिएको उनले स्पष्ट पारे ।
अहिलेसम्मकै सबैभन्दा ठूलो मोबाइल महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवको छैठौं दिनसम्म आईपुग्दा मोबाईल बिक्रीको आधारमा पहिलो स्थानमा सामसुंग मोबाइल रहेको छ भने सामसुंगलाई हुवावे ब्राण्डले पछ्याईरहेको छ ।
यहि फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित सामसुंग मोबाइल महोत्सव २०१५ आयोजना भईरहेको छ । महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफरमार्फत छुट दिईएकोछ । हरेक दिन गरिने लक्की ड्रमा ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकहरुको विवरणराखि बम्पर उपहार दिइने महोत्सवका संयोजक कृष्ण प्रसाद कर्माचार्यले जानकारी दिए । ताम्राकार कम्प्लेक्सद्धारा बम्पर उपहार अन्तरगत अन्तिम दिन ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने छ ।
पाँचौं दिनको लक्कि ड्र
मोबाइल महोत्सवमा सोमबार पाँचौं दिन अवलोकन भ्रमण गरेका तथा मोबाइल खरिद गरेका ग्राहकहरुको लक्कि ड्र बुधवार खोलिएको छ ।
पाँचौं दिनको लक्कि ड्रमा कुपन नम्बर २५५१ भएका ललितपुर निवासी सबिन बिष्टले क्यास ब्याक अफरको डबल पुरस्कार हात पारेका छन् । बिष्टले दैनिक पुरस्कारअन्तरगतको ५० प्रतिशत क्यासब्याक प्राप्त गरेका हुन् । उनले क्यासब्याक अफरका साथै हरेक दिन प्राप्त गर्ने३० हजार रुपैंया बराबरको स्मार्टफोन प्राप्त गरेका छन् । बिष्टले कम्प्लेक्समा रहेको सामसुंग इलेक्ट्रोनिक एण्ड मोबाईल शपबाट मोबाईल खरिद गरेका थिए ।
त्यसैगरी दैनिक रुपमा गरिने डोर प्राइजको लक्कि ड्रअन्तरगत तीन जनाले स्मार्टफोन प्राप्त गरेका छन् । दैनिक डोर प्राइजको लक्कि ड्रबाट स्मार्टफोन प्राप्त गर्नेमा लडाक दोर्जे, ईश्वर र सोम लामा भाग्यशाली बिजेता भएका छन् ।
प्रकाशित: ७ फाल्गुन २०७१, बिहीबार