Technology Khabar २३ माघ २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौ, २३ माघ । विगत पाँच बर्षदेखि जापानबाट रेमिट्यान्स भित्र्याउने नेपालको पहिलो कम्पनी जापान मनि एक्प्रेस (जेएमई)ले निर्धन उत्थान बैंक लिमिटेडसँग रेमिट्यान्स सम्झौता गरेको छ ।
सम्झौता पत्रमा निर्धन बैंकका नायब महाप्रबन्धक भोजराज बस्याल र जेएमईका ब्यापार बिकास प्रबन्धक प्रताप श्रेष्ठले रेमिट्यान्स सहकार्यसम्बन्धी हस्ताक्षर गरेपछि जेएमईले सेवा बिस्तार गरेको हो । यो सम्झौतासँगै निर्धन बैंकको सम्पूर्ण १ सय ७५ शाखा तथा जेएमइ रेमिटका १४ सय एजेण्टवाट जेएमईमार्फत पठाएको रकम भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ । निर्धन बैंकसँगको सम्झौता अनुसार विदेशबाट भित्र्याउने रेमिट्यान्सको साथै आन्तरिक रेमिट्यान्स समेत गर्न सकिने जानकारी जेएमईका प्रबन्धक श्रेष्ठले दिए ।
अव जेएमई रेमिट मार्फत नेपालको ७५ वटै जिल्लामा सेवा लिन सकिने भएको छ । निर्धनसँगको सम्झौतापछि जेएमईका प्रबन्धक श्रेष्ठले विदेशवाट पठाएको पैसालाई सेवाग्राहीसम्म पुर्याउन थप सहज भएको जनाउँदै भने,‘आगामी दिनमा रेमिट्यान्स कारोवारलाई जनस्तरमा वैकिङ च्यानलबाट पुर्याउन जेएमई रेमिट क्रियाशिल रहने छ ।’
स्थापनाको छोटो समयमा नै आफ्नो सेवा विस्तार गर्न सफल जेएमईले अहिले जापानमा मात्र नभएर अन्य देशहरुवाट पनि रेमिट्यान्स कारोवार गर्न थालेको छ । नेपालका वैंक तथा वित्तीय संस्थाहरुसँग रेमिट्यान्स सम्झौता गरिरहेको जेएमईले अव रेमिट्यान्स जगतमा नयाँ प्रबिधी भित्राउने प्रतिबद्धता समेत गरेको छ ।
प्रकाशित: २३ माघ २०७१, शुक्रबार