Technology Khabar २१ माघ २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, २१ माघ । भारतीय मोबाइल फोन निर्माता कम्पनी माइक्रोम्याक्सले दक्षिण कोरियाली मोबाइल फोन निर्माता कम्पनी सामसुंगलाई भारतीय बजारमा उछिन्न सफल भएको छ । भारतको बढ्दो मोबाइल बजारमा स्थानीय कम्पनी माइक्रोम्याक्सले सामसुंगलाई सन् २०१४ को चौथो त्रैमासमा स्मार्टफोन बिक्रीमा पछाडी पार्दै पहिलो स्थानमा आईपुगेको बजार अनुसन्धान संस्था क्यानालिस(Canalys) ले जनाएको छ ।
सामसुंग विश्वको मूख्य स्मार्टफोन बिक्रेता कम्पनीको स्थानबाट हटेको समाचार बजार अनुसन्धान संस्था काउन्टरप्वाइन्टले (Counterpoint) केहि दिन अघि सार्वजनिक गरेसँगै भारतीय बजारको बारेमा पनि यो प्रतिवेदन सार्वजनिक भएको छ ।
फेब्रुअरी ३ मा जारी भएको प्रतिवेदनअनुसार माइक्रोम्याक्सले भारतीय बजारमा अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा २२ प्रतिशत स्मार्टफोन बिक्री गर्न सफल भएको छ । तर सोहि अवधिमा सामसुंगले भने २० प्रतिशत स्मार्टफोन मात्र बिक्री गर्न सकेको छ । यसआधारमा भारतीय बजेट ब्राण्ड माइक्रोम्याक्स भारतीय बजारमा प्रमुख स्मार्टफोन बिक्रेता कम्पनी बन्न सफल भएको हो । गतवर्ष नै माइक्रोम्याक्सले दक्षिण कोरियाली कम्पनी सामसुंगलाई सम्पूर्ण प्रकारको मोबाइल बिक्री गर्ने होडमा पछाडी पारिसकेको थियो ।
चौथो त्रैमासमा भारतीय बजारमा कुल २ करोड १६ लाख स्मार्टफोन बिक्री भएकोछ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९० प्रतिशतले अधिक हो । मोबाइल फोन राख्ने आधारमा चीनपछि भारत विश्वको दोस्रो स्थानमा रहेको मुलुक हो । स्मार्टफोनको क्षेत्रमा भने भारत तेस्रो स्थानमा पर्दछ । भारतीय बजारमा अधिक फीचर भएको तर सस्तो स्मार्टफोनको निकै माग छ भने धेरैजसो खरिदकर्ताहरु फीचर फोनबाट स्मार्टफोनमा अपग्रेड भइरहेका छन् ।
‘यो आश्चार्यलाग्दो प्रदर्शन हुनुमा माइक्रोम्याक्सले मोबाइल फोन प्रयोगकर्तालाई स्मार्टफोन खरिदमा निरन्तर गरिरहेको अपिल नै हो,’ प्रतिवेदनले भनेको छ, ‘यसको फ्ल्यागशिप लाइन अफ प्रोडक्टस् निकै प्रभावकारी भएका छन्, जुन १ सय ५० अमेरिकी डलरदेखि २ सय अमेरिकी डलरको बिचमा रहेका छन् ।’ यो श्रेणीमा माइक्रोम्याक्सको क्यानभास निट्रो (Canvas Nitro) र क्यानभास ह्यू (Canvas Hue) जस्ता स्मार्टफोनहरु पर्दछन् ।
सो अवधिमा भारतीय बजारमा १ सय डलरभन्दा मुनिका मोबाइल फोनहरु अधिक बिक्री भएको अनुमान छ, जसमध्ये ४१ प्रतिशत बिक्री भएका डिभाइसहरु १ सय डलरदेखि २ सय डलरको बिचमा रहेका छन् ।
क्यानालिसको प्रतिवेदनले माइक्रोम्याक्स र सामसुंगपछि दुई अन्य भारतीय ब्राण्डले पछ्याएको उल्लेख गरेको छ । भारतीय बजेट स्मार्टफोन ब्राण्ड कार्बन तेस्रो नम्बरमा रहेको छ भने लाभा चौथो स्थानमा रहेको छ ।
प्रकाशित: २१ माघ २०७१, बुधबार