Technology Khabar २० माघ २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, २० माघ । अर्थमन्त्री डा रामशरण महतले नेपालमा सञ्चालित आयोजनाहरुको कार्यान्वयन छिटो हुने ढंगले नयाँ मोडल बनाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । अर्थमन्त्री डा महतले नेपाल भ्रमणमा रहनुभएका बैंकका अध्यक्ष ताकेहिको नाकाओसँग अर्थमन्त्रालयमा भएको कुराकानीका क्रममा सो आग्रह गरेका हुन् ।
उनले भने, ‘लामो प्रक्रियाका कारण परियोजनाको कार्यान्वयनमा ढिलाई हुने गरेको छ । बैंकद्वारा सञ्चालित आयोजनाहरुको कार्यान्वयनलाई तिब्रता दिन फास्ट ट्रयाक र सफ्ट मोडलबाट काम गर्न आवश्यक छ यसले छिटो नतिजा आउनेछ ।’
सो अवसरमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम छिटो हुनुपर्नेमा जोड दिए । उनले विमानस्थल अत्यन्तै साँघुरो भएको भन्दै यसलाई छिटो स्तरोन्नति गर्नु आवश्यक रहेको बताए । ‘सरकार जुनसुकै मोडलबाट काम गर्न तयार छ । सरकार, दातृसंस्था र निजीक्षेत्र मिलेर पनि स्तरोन्नतिको काम गर्न हामी तयार छौं,’ उनले भने । उनले पछिल्लो समय आर्थिक परिसूचकहरु सकारात्मक रहेको उल्लेख गर्दै निकासीमा अझै पनि सुधार हुन नसकेको बताए ।
सो अवसरमा बोल्दै बैंकका अध्यक्ष नाकाओले आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुने बताए । स्थिति अनुकूल भएकोले ठूलो लगानीको लक्ष्य राख्न सुझाउदै उनले भने, ‘पूर्वाधारको क्षेत्रमा लगानी बढाउनुपर्ने जरुरी छ ।’
उनले नेपालमा बैंकका धेरै परियोजनाहरु भएको जनाउँदै तिनलाई घटाएर प्राथमिकताप्राप्त ठूला परियोजनामा केन्द्रित हुन सकिने बताए । अध्यक्ष नाकाओले बैंकको नेपालस्थित मिसन कार्यालयलाई बढी अधिकार प्रत्यायोजन गरी छिटो काम गर्न निर्देश गरेको पनि जानकारी दिए ।
प्रकाशित: २० माघ २०७१, मंगलवार