जलविद्युत विकासमा प्रत्यक्ष वैदेशिक लगानीका विषयमा छलफल

Technology Khabar १५ माघ २०७१, बिहीबार

जलविद्युत विकासमा प्रत्यक्ष वैदेशिक लगानीका विषयमा छलफल

काठमाडौं ।

काठमाडौं, १५ माघ । नेपालको विकासका लागि मुख्य क्षेत्रको रुपमा रहेको जलविद्युत विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी आवश्यकता भन्दा वाध्यता रहेको सरोकारवाला तथा विज्ञहरुले बताएका छन्।

बुधवार इआइसीटी नेपालले गरेको जलविद्युतमा प्रत्यक्ष वैदेशिक लगानीका सवालहरु विषयक छलफलमा उनीहरुले नेपालको सम्भावनालाई अधिकतम  उपयोग गरि मुलुकको सम्बृद्धीको लागि जलविद्युतको विकास अपरिहार्य रहेको बताए।  विश्वका अधिकांश मुलुकहरु धनी र शक्तिशाली हुनुमा वैदेशिक लगानीको प्रमुख भुमिका रहेको उनीहरुको तर्क थियो।

कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जिवी नेपालले मुलुकको आर्थिक विकासमा फड्को मार्ने क्षेत्र जलविद्युत हो भन्नेमा निर्विवाद रहेको उल्लेख गर्दै नेपालले यसका लागि सबै किसिमको वातावरण बनाउनुपर्ने बताए । राजनीति र नीतिगत स्थायित्व प्रत्यक्ष वैदेशिक लगानीका लागि मुख्य आधार रहेको उल्लेख गर्दै वलियो वित्तिय संरचना निर्माण र सबै तहमा सवल इच्छा शक्तिले जलविद्युत विकासका लागि योगदान दिन सक्ने बताउनुभयो।

खुला अर्थतन्त्रले धेरै विकसित मुलुकहरुले विकासमा उल्लेख गर्दै नेपालले भने, ‘वगेर जाने पानीको उपयोग नगरेर अनावश्यक विवाद गर्नु निरर्थक छ । स्वदेशी तथा विदेशी सबै लगानीकर्तालाई  सुरक्षित वातावरण बनाउनुपर्छ ।’ विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुकहरु अमेरिका र चीनमा सबैभन्दा वढी वैदेशिक लगानी रहेको छ भन्ने कुराबाट नेपालले पाठ सिक्नुपर्ने डा नेपालले बताए ।

व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले नेपालको आन्तरिक जलविद्युत वातावरण उदार नभएसम्म विदेशी लगानीको सम्भावना नभएकोले जलविद्युतमैत्री नीति निर्माण हुनुपर्नेमा जोड दिए । विद्युत, विद्युत नियमन आयोग, जग्गा प्राप्ति, सार्वजनिक खरिदलगायतका  जलविद्युत विकाससाग प्रत्यक्ष जोडिने विधेयकहरु सरकारी वेवास्ता र हेलचेक्याइका कारण आउन नसकेको उनको भनाइ थियो। थापाले थपे, ‘सरकारले भन्नुभन्दा संसदले नै सरकारलाई विधेयक ल्याउ भनेर पटकपटक भन्दा पनि सरकारले चासो दिएको छैन ।’

सरकारकै कारण जलविद्युतको विकास हुन नसकेको उल्लेख गर्दै थापाले भोटेकोशी जलविद्युत टावर निर्माण अवरोधमा सत्तारुढ दलहरुकै संलग्न हुनु विडम्वना भएको टिप्पणी गरे ।

पूर्व सचिव एवं नेपाल हाइड्रो पावर एशोसियसनका उपाध्यक्ष श्रीरञ्जन लाकौलले नेपालका लागि वैदेशिक लगानी आवश्यकता र वाध्यता दुवै भएको बताए । आगामी १५ बर्ष भित्र नेपाललाई आवश्यक १० हजार मेगावाट विद्युतको लागि २० खर्व भन्दा लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले स्वदेशी आवश्यकता पुरा गर्नेको लागि समेत वैदेशिक लगानी आवश्यक रहेको बताए ।

विद्युत विकास विभागका पूर्व महानिर्देशक डिवी सिंहले नेपालको  २ लाख मेगावाट सम्म नेपालले विद्युत उत्पादन गर्न सक्ने भएकोले त्यसको लागि वैदेशिक लगानी आवश्यक भएको जनाउँदै पञ्चेश्वर वहुउद्धेश्यीय आयोजना जस्ता ठूला परियोजनाको विकासमा नेपालको ध्यान जानुपर्ने बताए ।

जलविद्युत विकास तथा लगानी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले देशको विकासको लागि वैदेशिक लगानी निर्विकल्प रहेको उल्लेख गर्दै नेपालको आवश्यकतालाई मध्यनजर गर्दै स्वदेशी लगानीका आयोजनालाई तीव्रता दिनुपर्ने बताए ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इपान)का अध्यक्ष खड्ग बहादुर बिष्टले नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौतासँगै त्यसको कार्यान्वयनका लागि आवश्यक संयन्त्रहरु निर्माण गर्नुपर्ने बताए ।

easy care

प्रकाशित: १५ माघ २०७१, बिहीबार