Technology Khabar १२ माघ २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, १२ माघ । कलर्स मोबाइलले विण्डोज अपरेटिङ सिष्टममा आधारित स्मार्टफोन सार्बजनिक गरेको छ । कलर्सले माइक्रोसफ्टसँग मिलेर आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिलो विण्डोज फोनको प्रि-लन्च गरेको हो । माइक्रोसफ्टले नेपालमा विण्डोज स्मार्टफोन सार्वजनिक गरको यो पहिलो पटक हो ।
टेलिटक प्रालिको स्वामित्वमा भएको कलर्स मोबाईलले पहिलो पटक नेपालमा विण्डोज अपरेटिङ सिष्टममा आधारित स्मार्टफोन ‘विन डब्लू १०’ (Win W 10) ल्याएको हो । यो स्मार्टफोन क्यान इन्फोटेकको अवसर पारेर सार्वजनिक रुपमा विक्री गर्ने घोषणा गरिने कम्पनीले जानकारी दिएको छ । कलर्सको यो स्मार्टफोन माघ १४ गतेदेखि क्यानमा रहेको टेलिटकको स्टलमार्फत प्रि बुकिङ गर्न सकिने जानकारी पनि दिएको छ ।
टेलिटकका प्रमुख कार्यकारी अधिकृत संजय अग्रवालले यो कलर्सको अर्को फड्को भएको बताए । उनले आफ्ना ग्राहकहरुलाई नयाँ नयाँ प्रविधि सहितको स्मार्टफोन उपलब्ध गराउने जानकारी दिए । ‘हामी विण्डोज स्मार्टफोन र विण्डोज अपरेटिङ सिष्टमको लागि डोर टू डोर क्याम्पेन गर्नेछौं ।’ उनले भने । कलर्सले हालसम्म स्मार्टफोनमा एन्ड्रोयड अपरेटिङ सिष्टम प्रयोग गरि उत्पादन तथा बिक्री गर्दै आएको थियो ।
कार्यक्रममा माइक्रोसफ्टका रिजनल अकाउन्ट डिरेक्टर इभान चानले पछिल्लो छ महिनाको अवधिमा विण्डोज अपरेटिङ सिष्टममा आधारित भएर विश्व बजारमा करिब ३५ वटा डिभाइस आईसकेको जानकारी दिए । ‘हामी अब विश्वका साना साना बजारमा पनि केन्द्रित भएको छौं,’ उनले भने, ‘अब विण्डोजमा अधारित स्मार्टफोन सहुलियत मूल्यमा पनि खरिद गर्न सकिने गरि काम गरिरहेका छौं ।’
माईक्रोसफट्को स्टोरमा हाल ५ लाख ६० हजार एप्स रहेको जानकारी दिँदै चानले स्थानिय एप निर्मातासँग पनि सहकार्य गरिरहेको बताए । माइक्रोसफ्टले नेपालमा नै सर्भिस सेन्टर खोल्ने तयारी पनि गरिरहेको छ । हाल विश्वमा १ दशमलब ५ विलियन मानिसहरुले विण्डोज प्रयोग गरिरहेको माइक्रोसफ्टले जानकारी दिएको छ । माइक्रोसफ्टले आगामी दिनमा विभिन्न मुलुकहरुमा च्यानल पार्टनरसँग मिलेर विण्डोज फोन सार्वजनिक गर्ने जानकारी पनि दियो ।
कलर्सले सार्वजनिक गरेको यो स्मार्टफोन विश्वको सबैभन्दा पातलो विण्डोज स्मार्टफोन भएको बताईएको छ । कलर्सले ल्याएको विन डब्लू १० मोडल नम्बर भएको यो स्मार्टफोन ७.२ मिलिमिटरको छ भने यसको तौल १ सय ग्राम मात्रै छ । माइक्रोसफ्टका चानले पनि यो सबैभन्दा पातलो विण्डोज स्मार्टफोन भएको दाबी गरे । उनले भने, ‘७.२ मिलिमिटर भएको यो विश्वको सबैभन्दा पातलो विण्डोज स्मार्टफोन हो ।’
कलर्सको पहिलो विण्डोज स्मार्टफोन विन डब्लू १० मा दुई सीम प्रयोग गर्न सकिन्छ भने यसमा थ्रीजी सपोर्ट रहेको छ । यो स्मार्टफोनको रियर क्यामरा ८ मेगापिक्सलको छ भने फ्रन्ट फेसिंग क्यामरा २ मेगापिक्सलको रहेको छ । यसको स्क्रीन साईज ४.५ इन्चको रहेको छ भने यसमा क्वालकमको १.२ गीगाहर्जको स्न्यापड्रयागन क्वाड कोर प्रोसेसर प्रयोग गरिएको छ । १ जीबी र्याम भएको यो फोनको इन्टरनल स्टोरेज ८ जीबीको छ भने यसलाई बढाउन पनि सकिने बताईएको छ ।
कलर्सले ल्याएको यो फोनको बजार मूल्य १८ हजार रुपैंया भन्दा बढि हुने घोषणा भएपनि यसको मूल्य १५ हजार भन्दा कम हुने कम्पनी स्रोतले बतायो । यो फोन बजारमा फेब्रुअरीदेखि मात्र उपलब्ध हुनेछ ।
टेलिटकले विण्डोज अपरेटिङ सिष्टम र विण्डोज फोनको बारेमा जानकारी दिन क्यान मेलामा विभिन्न जानकारीमूलक कार्यक्रम पनि गर्ने भएको छ । त्यसैगरी आगामी अप्रिलमा एप सम्बन्धि गोष्ठि पनि गर्ने जनाएको छ ।
प्रकाशित: १२ माघ २०७१, सोमबार