उद्योगी र सरकारबीच सहकार्य आवश्यक: उद्योगमन्त्री

Technology Khabar ४ माघ २०७१, आईतवार

उद्योगी र सरकारबीच सहकार्य आवश्यक: उद्योगमन्त्री

काठमाडौं ।

काठमाडौं, ४ माघ । उद्योगमन्त्री महेश बस्नेतले उद्योग क्षेत्रको विकासका लागि उद्योगी र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको ११ औँ साधारण सभाको उद्घाटन गदैँ उनले उद्योग क्षेत्रमा देखिएका समस्याको निराकरणका लागि उद्योगी र सरकारबीच सहकार्यको पहल कदमी हुनु जरुरी रहेकोमा जोड दिए । “अब उद्योगी र सरकार, माग्ने र दिने होइन । सहकार्य र सहअस्तिवका आधारमा अगाडी बढ्नुपर्छ”– मन्त्री बस्नेतले भने ।

उनले दाङको विजौरी, संग्राममा विशेष आर्थिक क्षेत्र (सेज)को स्थापनाका लागि पहल गरिरहेको बताउदैँ २०४५ साल यता उद्योग क्षेत्र स्थापनाका लागि पहल भएको थिएन । मेरो पहलमा भैरहवामा सेज स्थापनाको कार्य आरम्भ भैसकेको जानकारी दिए ।

मन्त्री बस्नेतले वन ऐन र कानुन सेज स्थापनाका लागि वाधक भएको स्विकार गरे । उनले उद्योग मैत्री वातावरण बनाउन मन्त्रालय लागेको उल्लेख गर्दै उद्योग मैत्री नीतिगत सुधार गर्ने काम प्रक्रियामा रहेको र स्वदेशी वस्तु उपयोग सम्बन्धी निर्देशिका, औद्योगिक व्यवसाय ऐन तर्जुमाको काम अन्तिम चरणमा रहको बताए ।

यातायात र उद्योग क्षेत्रमा रहेको सिन्डिकेट तोड्न आग्रह गर्दै, “कृपया सबै खाले सिन्डिकेट तोडौँ । उद्योग क्षेत्रमा रहेका सिन्डिकेट समेत तोडौँ”– मन्त्री बस्नेतले भने ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे, महासचिव दिपक सुवेदी लगायतका वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

easy care

प्रकाशित: ४ माघ २०७१, आईतवार