Technology Khabar १ माघ २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, १ माघ । नेपालमा गूगलको एन्ड्रोयड वन अपरेटिङमा आधारित स्मार्टफोनहरु जनवरीको अन्त्यसम्ममा आउने भएको छ । गूगलले केहि समय अघि भारतमा सार्वजनिक गरेको एन्ड्रोयड वनमा आधारित स्मार्टफोन दक्षिण एशियाली मुलुकहरु नेपालसहित बंगलादेश र श्रीलंकामा पनि विस्तार गर्ने योजना अनुरुप नेपालमा उक्त अपरेटिङमा आधारित स्मार्टफोनहरु आउन लागेका हुन् ।
नेपालमा एन्ड्रोयड वनमा आधारित भएर स्मार्टफोनहरु उत्पादन गरेका कार्बन र स्पाइस ब्राण्डले आफ्ना स्मार्टफोनहरु बजारमा ल्याउन लागेका हुन् । कार्बन मोबाइलको नेपालका लागि आधिकारीक बिक्रेता एलाईड ट्रेड लिंक इन्टरनेशनले नेपालमा एन्ड्रोयड वन अपरेटिङ सहितको स्मार्टफोन कार्बन स्पार्कल भी (Sparkle V) बजारमा ल्याउने छ भने स्पाईसको नेपालका लागि आधिकारीक बिक्रेता ज्योती समूहले स्पाईस ड्रिम यूएनओ (Dream Uno)मोडल बजारमा ल्याउने भएको हो ।
तर एन्ड्रोयड वनमा नै आधारित माइक्रोम्याक्स क्यानभास ए वन (Canvas A1) स्मार्टफोन भने नेपाली बजारमा उपलब्ध हुनेछैन् । माइक्रोम्याक्सको नेपालका लागि आधिकारित बिक्रेता पशुपति ट्रेडलिंकले स्थानिय बजारमा सो मोबाइल नल्याउने निर्णय गरीसकेको छ ।
एन्ड्रोयड वनमा आधारित दुई स्मार्टफोनहरु भने नेपाली बजारमा आउने निश्चित जस्तै भइसकेको छ । कार्बनको आधिकारिक बितरक एलाईड ट्रेड लिंक इन्टरनेशनलले भने जनवरीको २५ तारिखको हाराहारीमा एन्ड्रोयडमा वनमा आधारित मोडल कार्बन स्पार्कल भी ल्याउने जानकारी दिएको छ । कम्पनीका डेपुटी विजनेश म्यानेजर पुस्कल खतिवडाले नेपालमा पनि एन्ड्रोयड वनको बारेमा सोधपुछ निकै बढेको बताए । ‘कार्बनले स्थानिय बजारमा एन्ड्रोयड वनमा आधारित स्मार्टफोन ल्याउने तयारी पुरा गरेको छ,’ उनले भने, ‘यो फोनले छिटै बजारमा आफ्नो स्थान बनाउनेछ ।’
त्यसैगरी स्पाइसको नेपालका लागि आधिकारीक बिक्रेता ज्योती समूहका संजिव कर्माचार्यले छिटै नै एन्ड्रोयड वनमा आधारित स्मार्टफोन ल्याउन लागेको जानकारी दिए । हामी आजभोली नै एन्ड्रोयड वनमा आधारित स्मार्टफोन ल्याउने तयारीमा छौं, उनले भने, जनवरीको अन्त्यसम्ममा बजारमा नयाँ फोन पुर्याउने कोशिसमा छौं ।
तर एन्ड्रोयडमा आधारित अर्को स्मार्टफोन माइक्रोम्याक्स क्यानभास ए वन भने नआउने स्पष्ट भइसकेको छ । पशुपति ट्रेड लिंककी बजार व्यवस्थापक श्रृतिका मानन्धरले अहिलेसम्म माइक्रोम्याक्सले नेपाली बजारमा एन्ड्रोयड वनमा आधारित स्मार्टफोन नल्याउने जानकारी दिईन् । उनले भनिन्, कम्पनीले बजार अध्ययन गरेर नै यो स्मार्टफोन नल्याउने निर्णय गरेको हो । माइक्रोम्याक्सले यो भन्दा एडभान्स फीचरसहितको नयाँ मोडलको एन्ड्रोयड वनमा आधारित स्मार्टफोन ल्याउने तयारी गरेको छ । “हामी अझ नयाँ मोडलको स्मार्टफोन ल्याउन केन्द्रित छौं जुन विश्व बजारमा छिटै आउन लागेको छ ।” मानन्धरले भनिन् ।
उता अन्य दुई ब्राण्ड कार्बन र स्पाइसले भने बजारमा नयाँ स्मार्टफोनले केहि समय एक छत्र बजार हिस्सा बढाउने मुल्यांकनका साथ एन्ड्रोयड वनमा आधारित स्मार्टफोन ल्याउन लागेका छन् । एलाईडका डेपुटी विजनेस म्यानेजर खतिवडाले भने, ‘हामीले पहिलो ६ महिना एन्ड्रोयड वन स्मार्टफोनले निकै राम्रो बजार लिने अनुमान गरेका छौं ।’ ज्योती समूहका कर्माचार्यले पनि यो स्मार्टफोन बजारमा निकै बिक्री हुने आशा गरेको बताए । उनले भने, ‘यसमा भएको २ वर्षसम्मको सफ्टवेयर अपग्रेडको सुविधालगायतका विशेषताका कारण बिक्री राम्रो हुने आशा गरेका छौं ।’
माइक्रोम्याक्स आउला ?
माइक्रोम्याक्सको नेपालका लागि आधिकारीक बिक्रेता पशुपति ट्रेड लिंकले यसअघि नै स्थानिय बजारमा एन्ड्रोयड वनमा आधारित स्मार्टफोन ल्याउने बारेमा सामान्य बजार अनुसन्धान गरेको थियो । त्यो अनुसन्धानमा उक्त स्मार्टफोनले खासै प्रभाव पार्ने नदेखिएको कम्पनी स्रोतले केहि समय अघि मोबाईल्सखबर डटकमलाई जानकारी दिएको थियो ।
‘बजारमा अहिलेपनि सोहि बजार मुल्यको हाराहारीमा विभिन्न स्मार्टफोनहरु रहेको हुँदा एन्ड्रोयड वनले नै मार्केट लिन्छ भन्ने कुनै ग्यारेन्टी छैन्,’ कम्पनीले स्रोतले भन्यो, ‘त्यसैले अहिले कम्पनीले सो स्मार्टफोन ल्याउने इच्छा राखेको छैन् । सोहि बजार अनुसन्धानको आधारमा कम्पनीले एन्ड्रोयड वनमा आधारित स्मार्टफोन ल्याउन इच्छा देखाएको छैन् ।’ तर उसको उत्पादक कम्पनी माइ्रकोम्याक्स इन्फर्मेटिक्सले भने नेपालमा उक्त फोन ल्याउने इच्छा राखेको बताईएको छ । त्यसकारण माइक्रोम्याक्सको स्मार्टफोन नेपालमा आयो भनेपनि कम्पनीको मुख्य कार्यालयले नै सबै जिम्मेबारीका साथ ल्याउने अनुमान गरिएको छ ।
के सय डलरको मुल्यमा पाइन्छ त एन्ड्रोयड वन ?
विश्वभर सामान्य उपभोक्तालाई लक्षित गरेर बजारमा गुगलले एन्ड्रोयड वनमा आधारित स्मार्टफोन सार्वजनिक गरेको थियो । यो स्मार्टफोन करिब १०० डलर बजार मुल्यमा बिक्री गर्नेगरी गुगलले ल्याएको हो । नेपालमा भने यो स्मार्टफोन १० हजार रुपैंयाभन्दा तल नै उपलब्ध हुने शुरुमा अनुमान गरिएपनि हाल त्यो संभावना छैन् ।
नेपालका सबै एन्ड्रोयड वनसहितका स्मार्टफोनका आधिकारिक बिक्रेताहरुका अनुसार यी स्मार्टफोनहरु १० हजार रुपैंया भन्दा बढि पर्ने निश्चित छ । एलाईडका डेपुटी विजनेस म्यानेजर खतिवडाले यी स्मार्टफोनहरु १० हजारदेखि १२ हजार रुपैंयाभित्र बजार मुल्यमा खरिद गर्न पाइने बताए । ‘बजार मुल्य केहि महंगो हुँदा बजारमा निकै प्रतिस्पर्धा भोग्नुपर्नेछ,’ उनले भने, ‘तर पहिलो ६ महिना एन्ड्रोयड वनमा आधारित नयाँ स्मार्टफोनहरुले बजार पिट्नेछन् ।’
ज्योती समूहका कर्माचार्यले पनि यी स्मार्टफोनहरु १२ हजारसम्ममा उपलब्ध हुने जानकारी दिए । ‘नेपालमा यी फोनहरुमा लाग्ने ट्याक्सलगायतका कारण १०० डलरको आधारमा यी स्मार्टफोन उपलब्ध हुन सक्दैन्,’ कर्माचार्यले भने ।
माइक्रोम्याक्सको आधिकारिक बितरक पशुपति ट्रेड लिंकका एक अधिकारीले पनि १० हजारभन्दा सस्तो मूल्यमा एन्ड्रोयड वन स्मार्टफोन बजारमा बिक्री गर्न नसकिने हुँदा कम्पनीले ल्याउने इच्छा नदेखाएको जानकारी दिए । ‘यो मुल्यमा अन्य चीनियाँ ब्राण्डका स्मार्टफोनहरु निकै राम्रो फीचरका साथ उपलब्ध छन्,’ उनले भने ।
एन्ड्रोयड वन र बजार प्रतिस्पर्धा
स्थानिय बजारमा अब एन्ड्रोयड वन आउने पक्का भएपछि बजारमा उपभोक्ताहरुले छनौटको अवसर पाउने भएका छन् । बजारमा अहिलेपनि चीनियाँ ब्राण्डका विभिन्न मोबाईलहरु उपलब्ध रहेका छन् भने अन्य विभिन्न कम्पनीका ब्राण्डेड स्मार्टफोन पनि छानीछानी बजारमा छन् । ती स्मार्टफोनहरुमा भने एन्ड्रोयड वनको जस्तो फीचर र हार्डवेयरको सुविधा भने उपलब्ध छैन् । त्यसकारण अब नेपाली उपभोक्ताहरुले बजारमा एउटा नयाँ अपरेटि० सिष्टममा आधारित स्मार्टफोन खरिदमा छनौटको अबसर पाउने भएका हुन् ।
के छ एन्ड्रोयड वन स्मार्टफोनमा फीचरहरु ?
गुगलले विकासशिल मुलुकमा बढ्दो स्मार्टफोनको बजारमालाई ध्यानमा राखेर एन्ड्रोयड वन अपरेटिङ सिष्टममा आधारित स्मार्टफोनहरु ल्याएको हो । गुगलले तीन कम्पनीहरु माइ्रक्रोम्याक्स, कार्बन र स्पाइससँग मिलेर यो सफ्टवेयरमा आधारित स्मार्टफोन ल्याएको हो । सबै एन्ड्रोयड फोनको हार्डवेयर र सफ्टवेयर स्पेसिफिकेशन्स गुगलले तय गरेको हो भने भारतीय कम्पनीहरुले सोहि आधारमा मोबाइल फोन बनाएका हुन् ।
यी स्मार्टफोनहरुमा १.३ गीगाहर्ज़ मिडियाटेक क्वाड कोर प्रोसेसर रहेकोछ । त्यसैगरी १ जीबी र्याम र ४ जीबीको इन्टरनल स्टोरेज राखिएकोछ ।
एन्ड्रोइड ४.४ किटक्याट र एल अपडेट ग्यारेन्टी भएको यी स्मार्टफोनहरुमा ५ मेगापिक्सेलको रियर क्यामेरा, जी-सेन्सर, प्रोक्सिमिटी सेन्सर, लाइट सेन्सर, इ-कम्पास, गाइरो सेन्सर आदि सुविधाहरु छन् ।
हाइ स्पीड प्रोसेसिङ, दुई वटा सिम, एफएम रेडियो, एसडी मेमोरी कार्डसहित कयौ फिचर्सयुक्त यी फोनको मूल्य भारतमा ६ देखि ६ हजार ५ सय भारतीय रुपैयाँसम्म रहेकोछ ।
प्रकाशित: १ माघ २०७१, बिहीबार