Technology Khabar २५ पुष २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौ, २५ पुस । एमआईटी ग्रुप फाउन्डेसनले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरी एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेको छ ।
गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित यस एमआईटी ग्रुप फाउन्डेसनले यो कोषमार्फत् नेपालका दुर्गम गाउँका बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नेछ भने स्रोतसाधनको अभाव भएका बिद्यालयहरुमा पुस्तकालय स्थापना, शिक्षण सामाग्री र तालिमका लागि समेत सहयोग गर्ने बताईएको छ ।
यसैगरी आधारभूत स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामिण क्षेत्रका न्यून आय भएका मानिससम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउनसमेत यो कोषको रकम खर्च गरिने फाउन्डेशनद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘हाम्रो जीवनकालमा समाजबाट जे पायौं त्यसको केही हिस्सा समाजलाई फिर्ता गर्ने परोपकारी अभियानको थालनी गर्नु पाउनुको खुसी म शब्दमा बयान गर्न सक्दिन ।’ एमआइटी ग्रुप फाउन्डेसनका संस्थापक शेष घलेले भने ।
फाउन्डेसनकी संस्थापक जमुना गुरुङले व्यबस्थित र बृहत ढंगले ‘बिजनेस अफ गिभिङ’को सुरुवात गर्न पाउनु सवैभन्दा खुसीको क्षण भएको भन्दै परिणाममुखी काममा यो रकम खर्च गर्ने बताईन
एमआईटी फाउन्डेसनको स्थापनासँगै काठमाण्डौंमा यसको संरचना निर्माणको कार्य सुरु भएको छ । संरचना निर्माणपछि एमआईटी फाउन्डेसनका बिज्ञ समूहले सहयोग जरुरी रहेका अत्याबश्यक परियोजनाहरुको पहिचान गरी कार्य थाल्ने छ ।
एमआईटीको अभियानलाई अझै बृहत बनाउन रकमको आकार बढाउँदै लैजाने र अन्य संस्थाले हातेमालो गर्न चाहेको खण्डमा आफ्नो सम्पर्क र संजालको उपयोग गर्न प्रयास गर्ने संस्थापकद्वय घले र गुरुङले जानकारी दिए ।
करिव दुई दशकदेखि अष्ट्रेलियामा ब्यबसाय गरिरहनुभएका उहाँहरुले एमआईटी ग्रुप होल्डिङ्समार्फत् शिक्षा, पर्यटन र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् । गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका घलेले केही समयअघि मात्र नेपालमा करिव ८ अर्र्ब रुपैयाँको लागतमा शेराटन काठमाण्डौ होटल निर्माण थालेका छन् ।
प्रकाशित: २५ पुष २०७१, शुक्रबार