Technology Khabar २३ पुष २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, २३ पुस । विश्वमा कुनै समय फोटो खिच्ने क्यामराको पर्यायवाची भएको कोडाकको नाम अब कतिको स्मरणबाट पनि हटिसक्यो होला । पछिल्लो समय डिजिटलाईजेनशलाई आत्मसात गर्न नसक्दा कोडाकले आफ्नो एक छत्र बजार गुमाउन पुग्यो । तर अब कोडाक फेरी नयाँ रुपमा देखिने भएको छ ।
कोडाकले हालै एन्ड्रोयड स्मार्टफोनको घोषणा गरेको छ । कोडाकले कन्ज्यूमर इलेक्ट्रोनिक्स शोको अवसर पारेर हालै एन्ड्रोयड स्मार्टफोन आईएम ५ (IM5) को घोषणा गरेको हो । यसकासाथै पछिल्लो समय स्मार्टफोन उत्पादनको क्षेत्रमा कोडाक पनि प्रवेश गरेको हो ।
कोडाकले घोषणा गरेको आईएम ५ स्मार्टफोन मध्य श्रेणाीको फोन हो यसमा भएको क्यामराको लागि यूनिक इमेज म्यानेजमेन्ट सफ्टवेयर (Unique Management Software) को प्रयोग गरिएको छ ।
कोडाकको पहिलो स्मार्टफोनमा ७२० पिक्सलको ५ इन्चको स्क्रीन रहेको छ भने एलइडि फ्ल्याशसहितको १३ मेगापिक्सलको रियर क्यामरा राखिएको छ । यो फोनमा ५ मेगापिक्सको फ्रन्ट क्यामरा छ भने १ जीबी र्याम तथा ८ जीबीको इन्टरनल मेमोरी रहेको छ ।
यो स्मार्टफोनमा नाम उल्लेख नभएको १.७ गीगाहर्जको अक्टा कोर प्रोसेसर छ, जसमा मिडिया टेकको चीपसेट प्रयोग भएको अनुमान गर्न सकिन्छ । यो एन्ड्रोयड किटक्याट ४.४ भर्सनमा आधारित छ जुन एन्ड्रोयड ललिपप ५.०मा अपडेट गर्न सकिनेछ ।
कोडाकको आईएम ५ स्मार्टफोन यूरोपमा मार्चको अन्त्यमा उपलब्ध हुने आशा गरिएको छ भने अन्य बजारमा त्यसपछि मात्र उपलब्ध हुनेछ । यूरोपमा यसको बजार मूल्य २ सय २९ यूरो तथा अमेरिकामा २ सय ४९ अमेरिकी डलर हुने अनुमान छ ।
यो स्मार्टफोनमा भएको क्यामरा विशेष खालको भएको बताईएको छ । जसका लागि प्रयोगकर्ताले एउटा एप पाउनेछ जसले छिटो फोटोहरु एडिट गर्ने, सोशल मिडियाहरुमा शेयर गर्ने अवथा सिधै प्रिन्ट गर्नेलगायतका सुविधाहरु हुनेछन् ।
यो स्मार्टफोनका फिचरहरु जे जस्ता भएपनि पहिलो स्मार्टफोनको माध्यमबाट कोडाकले आफ्नो ब्राण्डलाई फेरी उकास्ने अपेक्षा गरिएको छ । तर उपभोक्ताहरुले कसरी लिन्छन त्यो हेर्न भने कुर्नुनै पर्ने हुन्छ ।
प्रकाशित: २३ पुष २०७१, बुधबार