Technology Khabar २१ पुष २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, २१ पुस । अर्थमन्त्री डा रामशरण महतले कृषि कर्जा प्राप्तिलाई सरलीकरण गरी कृषि कर्जा निर्देशिका ल्याउन लागिएको बताएका छन् । चितवनमा आयोजना गरिएको पशुपालन तथा दुग्ध उत्पादन व्यवसायको संभावना र चुनौती विषयक राष्ट्रिय कार्यशालामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
किसानको उमेरलाई उसको काम गर्ने सक्रियतासँग जोड्न चाहेको र सक्रिय किसानलाई कर्जा दिनुपर्ने साथै यसमा उमेरको सीमा बढाउनुपने उनले बताए । अहिले सुझाव दिने सबैलाई यस कुराको महसूस भएको बताउँदै उनले चाँडै नै मन्त्रिपरिषदमा लगेर यसलाई स्वीकृत गरिने जानकारी दिए । उनले कर्जा रकमको सीमालाई भने कर्जा उपभोगको स्थितिलाई हेरेर गर्न सकिने बताए ।
राष्ट्रिय व्यवसायिक पशुपालक तथा दुग्ध उत्पादक कृषक समाज केन्द्रीय तदर्थ समितिले आयोजना गरेको उक्त कार्यक्रममा अर्थमन्त्री डा महतले कृषि तथा पशुपालनमा अहिले बिगतमा कहिल्यै नदिइएको सुविधा दिइएको दाबी गरे । अर्थमन्त्रीले किसानहरुलाई त्यसको सदुपयोग गर्न आग्रह गरे । उनले भने, ुकुनै समस्या भए समाधान गर्न सरकार तत्पर छ । निर्वाहमूखीको सट्टा व्यवसायिक कृषि तथा पशुपालन गर्नुहोस् ।’
‘परम्परागत कृषि होइन, अव यसलाई व्यवसायिक बनाउनुहोस,’ अर्थमन्त्री डा महतले भने, ‘दक्षिण एसियाको ठूलो बजार हामीले प्राप्त गर्न सक्छौं । यसका लागि हाम्रा कृषि उत्पादनहरु गुणस्तरीय हुनुपर्छ । गुणस्तरीय भएमा अन्य देशमा समेत निर्यात हुन सक्छ ।’ उनले केही नेपाली कृषि उपजले अहिले पनि विश्व बजारमा प्रतिस्पर्धा गरिरहेको जानकारी दिदै भने, ‘कसले सोचेको थियो, कफी निर्यात हुन्छ । अलैची निर्यात हुन्छ । अदुवा निर्यात हुन्छ ।’
वाणिज्य बैंकहरुले कृषि कर्जा दिन आलटाल गरेको भन्दै उनले लगानीका नयाँ नयाँ क्षेत्र खोज्ने हो भने कृषिमा पनि लगानी गर्नुपर्ने बताए । वाणिज्य बैंकहरुले सजिलै कर्जा प्रवाह नगर्लान कि भनेर नै सरकारले विकास बैंकहरु र लघुबित्त संस्थाहरुमार्फत पनि कृषि कर्जा पाउन सकिने व्यवस्था मिलाउन लागेको जानकारी दिए ।
सो अवसरमा राष्ट्रिय व्यवसायिक पशुपालक तथा दुग्ध उत्पादक कृषक समाज केन्द्रीय तदर्थ समितिका अध्यक्ष आनन्द निउराले बजेटमा घोषित कृषि सम्वन्धित सुविधाहरुलार्इं छिटो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । त्यसैगरी कार्यक्रममा बोल्दै केन्द्रीय दुग्ध उत्पादक संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले सरकारले आयकरमा केही छुट दिनुपर्ने माग गरे । पशुपालनका क्षेत्रमा देखिएका समस्याहरुका बारेमा छलफल गरी समाधानका उपाय निकाल्न चितवनमा देशभरका पशुपालक तथा दुग्ध उत्पादक कृषकहरु भेला भएका छन् ।
प्रकाशित: २१ पुष २०७१, सोमबार