Technology Khabar १६ पुष २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, १६ पुस । ग्राहकलाई गहना छान्न पसलमै पुग्नुपर्ने बाध्यतालाई सहज बनाउन आइटी कम्पनी विधि प्रालिले नेपालमा पहिलो पटक गहनाबारे जानकारी दिने ‘गहना बजार’ एप्स सार्वजनिक गरेको छ । काठमाडौंका नाम चलेका गहना पसलका सुन तथा हिराका गहना छान्न पाउने सुविधा यस एपले मोबाइलमै उपलब्ध गराउने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध ‘गहना बजार’ मा उपभोक्ताले गहनाका विभिन्न डिजाइनका तस्बिर हेर्दै छान्न सक्नेछन् । यो एप्स आइओएस प्लेटफर्ममा यसै साता उपलब्ध हुने बताइएकोछ ।
गहना बजार एप प्ले स्टोरमा उपलब्ध भएको एक सातामै नौ हजारपटक डाउनलोड भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले बताएका छन् । यस एपमा आफ्नो क्षमता अनुसारका मूल्यका औंठी, नेकलेस, इयररिङ, पेन्डेन्ट, जन्तर, तिलहरी, टप, बेंगल, मंगलसूत्र, सिक्रीलगायतका गहना खोज्न सकिने छ ।
गहना बजार एपले ग्राहकले किन्ने गहनाको वास्तविक तौल, जर्ती र बनाउने ज्याला छुट्याएर हिसाव गर्ने तरिकासमेत सिकाउँछ ।
एप्समा दैनिक सुनको मूल्य आफैँ अपडेट हुन्छ । ग्राहकले सुनको मूल्य बुझ्न पसलेको भर पर्नु पर्दैन । त्यस्तै पसलको विश्वसनियताबारे एप्सबाटै बुझ्न सकिन्छ । एप्सबाटै दुई पसलका गहनाबीच तुलना गरेर गहना छान्न सकिने व्यवस्था राखिएकोछ । यस्तो सुविधा मोबाइलमा मात्र हैन, गहना बजारको वेबसाइटमा समेत उपलब्ध गरिएको सिइओ सापकोटाले जानकारी दिएका छन् ।
सो एप्समा गहनाका तस्बिरसहित सम्पूर्ण जानकारी पाउन सकिन्छ ।
‘ब्यस्त ब्यक्तिहरुलाई घरमै बसेर गहना छान्न सजिलो होस् भनेर यस्तो एप्प विकास गरेको सापकोटाले बताए । उनले यसलाई अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गर्ने योजना भएको जानकारी दिए । ग्राहक पसलमा गएर गहनाका डिजाइन छानेर बस्न सक्दैन । त्यस्तो बेला उसले मोबाइलमै सबै प्रकारका डिजाइन हेरेर पाइने पसलमा किन्न सक्छ ।
पसलमा गहना छान्न जानेहरुले गहना बजार एप्स आफ्नो मोबावाइलमा डाउनलोड गरेको देखाए गहना बनाउने ज्यालामा १५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट पाउने ब्यवस्था मिलाइएको कम्पनीले जनाएकोछ ।
एप्समा शालिमार ज्वेलर्स, बराह ज्वेलर्स, गहना स्टोर्स र एलएम सुनचाँदी पसलका गहनाका डिजाइन समावेश गरिएको छ ।
प्रकाशित: १६ पुष २०७१, बुधबार