आर्थिक विकासलाई अवरोध गर्नेहरु प्रतिगामी हुनः अर्थमन्त्री डा महत

Technology Khabar १ पुष २०७१, मंगलवार

आर्थिक विकासलाई अवरोध गर्नेहरु प्रतिगामी हुनः अर्थमन्त्री डा महत

काठमाडौं ।

काठमाडौं, १ पुस । अर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकार जनतालाई राजनीतिक अधिकार दिन र जनताको जीवनस्तर माथि उकास्न प्रयत्नशील रहेको बताएका छन् । चितवन उद्योग वाणिज्य संघको ४८ औं वार्षिक साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन ।

‘आर्थिक विकास नगरीकन जनताको जीवनस्तर माथि जान सक्दैन,’ उनले भने, ‘वर्तमान सरकार जनताको जीवनस्तर माथि उकास्न साहसिक निर्णय गर्दै अगाडि बढिरहेको छ । आर्थिक उन्नतिका लागि बजारका संयन्त्रहरुलाई प्रभावकारी बनाउनै पर्छ ।’

अर्थमन्त्री डा महतले जनताको जीवनस्तर माथि उठाउन सकिएन भने कुनै पनि व्यवस्था टिक्न नसक्ने बताए । सो कार्यक्रममा उनले भने, ‘अव आर्थिक क्रान्ति गर्नुपर्छ । आर्थिक क्षेत्रलाई अगाडि बढ्न नदिनेहरु प्रतिगामी हुन र आर्थिक एजेण्डालाई लिएर अगाडि बढ्नेहरु अग्रगामी हुन । जनताले पनि अव राम्ररी छुट्याउनुपर्छ ।’

भोटेकोशी जलविद्युत आयोजनामा राजनीतिक दलहरुको अवरोधप्रति आक्रोश पोख्दै उनले भने, ‘यस्तो विकासप्रतिको यस्तो कामले नेपालीलाई पछि धकेल्ने काम मात्र गर्छ । स्थानीय जनताका मागहरु पूरा गर्न सरकार प्रतिवद्ध छ । तर यस्तो विरोधले लगानीकर्ताहरु निरुत्साहित भै आर्थिक विकास नै अवरुद्ध हुन्छ ।’

उनको भनाई थियो, ‘अमेरिका मेहनतले बनेको हो र त्यहाँ यस्तो आन्दोलन हुँदैन । सिंगापुर जन्मेदेखि नै आन्दोलन भएको छैन । तर नेपालमा विभिन्न किसिमका अवरोधहरु र सानातिना मुद्दामा पनि आन्दोलन गर्नाले विकासमा अवरोध हुन पुगेको हो ।’ उनले आर्थिकरुपमा मुलुक अगाडि बढिसकेको उल्लेख गर्दै अवरोध नगर्न आग्रह गरे ।

आर्थिकरुपले धान्न सकिनेगरी संविधानमा संघीयताको व्यवस्था गरिने उल्लेख गर्दै उनले भने, ‘संघीयता भनेको दूध र भात खाएजस्तो स्वादिलो हुँदैन । प्रशासनिक खर्च प्रशस्त हुन्छ र त्यसलाई धान्न जनतालाई नै करको बोझ थप्नुपर्ने हुन्छ । त्यसैले आजको अपरिपक्व निर्णयले फेरि पछि संघीयतालाई असफल बनाउनु हुँदैन । आर्थिकरुपले धान्न सकिनेगरी सीमित प्रान्तहरु हुनुपर्छ ।’

धर्म निरपेक्षता भनेको धार्मिक स्वतन्त्रता भएको उल्लेख गर्दै उनले भन्नुभयो, डर, धाक, धम्की र आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गर्न पाइदैन । यो कानूनीरुपमा अपराध हो । कसैले धर्म परिवर्तनका लागि भन्दै हिडेको छ भने सरकारले कुटनीतिक च्यानलबाट त्यस्तो काम बन्द गर्न लगाउनेछ ।

सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीले चितवनको विकासका लागि कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा तथा सिर्जनात्मक पुँजी निर्माणका २२ वटा बूँदाहरु प्रस्तुत गरेका थिए । त्यसैगरी सो अवसरमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर विसुरालले निजीक्षेत्रलाई बढावा दिने सरकार र अर्थमन्त्री भएकोले अर्थतन्त्रले गति लिने आशा व्यक्त गरे ।

easy care

प्रकाशित: १ पुष २०७१, मंगलवार

ताजा समाचार