Technology Khabar २९ मंसिर २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, २९ मंसिर । नेपाल विज्ञापन एजेन्सी संघ (आन) को आगामी नेतृत्वको लागि संतोष श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ । निकै लामो समयदेखि विज्ञापन व्यवसायमा संलग्न युवा विज्ञापन व्यवसायी श्रेष्ठको नेतृत्वमा निकै जुझारु, कर्मशिल र सृजनशिल युवाहरुको समूह रहेको छ ।
मार्स प्रालि स्थापना गरेर विज्ञापन व्यवसाय गर्दै आएका अध्यक्ष पदका दाबेदार श्रेष्ठको समूहमा उपाध्यक्ष पदमा एड मिडिया प्रालिका मोहम्मद अख्तरले उम्मेदवारी दिएका छन् । महासचिव पदका लागि नारायण कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
त्यसैगरी श्रेष्ठ समूहबाट सचिवमा गणेश प्रसाद जीपी तिमल्सीना, सहकोषाध्यक्षमा शम्भु अधिकारी, सदस्यहरुमा पंकज प्रधान, मुना श्रेष्ठ, सालिकराम घिमिरे, शेखरराज कसजु, अनन्तकान्त मैनाली र गजेन्द्र कक्षपति रहेका छन् ।
सन्तोष श्रेष्ठ समूहले बढदो आधुनिक संचार प्रणालीको उच्चतम प्रयोग गरि अन्तर्राष्ट्रियस्तरको व्यवसायीक क्षमता अभिवृद्धि गर्ने, समयानुकुल सृजनशिल एवं व्यसायिक तालिम संचालन गर्ने, विदेशी विज्ञापनलाई मौलिक स्वदेशी विज्ञापनकोरुपमा प्रबद्र्धन गर्ने, नेपाल सरकारबाट लागु हुनलागेको संचार नीतिमा विज्ञापन व्यवसायीको हकहितमा नीति बनाउन दबाब दिने, संचारमाध्यमको अन्तरसम्बन्धलाई मजबुद बनाउँदै विज्ञापनदातासँगको अन्तरसम्बन्धमा सुधार एवं विकास गर्ने प्रमुख लक्ष्य राखेको छ ।
वर्तमान कार्यसमितीमा महासचिव पदमा रहेर अनुभव हासिल गरेका र बजार अनुकुल सृजनशिल काम गरिसकेका साथिहरुलाई समेत समेटेर पृथक सोच, फरक शैलि, उच्च विचार एवं विज्ञापन सम्बन्धि दक्षता हासिल गरेका व्यक्तित्वहरुको सहभागितामा यो समूहले उम्मेदवारी दिएको जनाएकोछ ।
यस समूहमा रहेका दक्ष, अनुभवि र युवा उम्मेदवारहरुले आनलाई आगामी दिनमा सफल, सक्षम र विज्ञापन व्यवसायीको व्यवसायीक संस्थाको रुपमा विकास गर्ने उदेश्य लिएको छ ।
करिब ५ अर्बको विज्ञापन बजार भएर पनि सिंगोरुपमा उद्योगको मान्यता अझै नपाएको अवस्थामा यो क्षेत्रलाई संस्थागत गर्नु र उद्योगको मान्यता दिलाउनु यो समूहको अर्को लक्ष्य रहेको अध्यक्षका प्रत्यासी श्रेष्ठको भनाई छ ।
श्रेष्ठ समूहले विज्ञापन बजारलाई समयानुकुल परिस्कृत गरेर राज्य, विज्ञापनदाता र संचारमाध्यमद्धारा हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नेगरी काम गर्ने प्रतिबद्धता पनि जनाएको छ । त्यसैगरी मिडियासेन्टरको अवधारणालाई आत्मसाथ गरेर सरोकारबाला सबैको अपनत्व हुनेगरि मिडिया सेन्टरको विकास गर्ने बताएको छ ।
प्रकाशित: २९ मंसिर २०७१, सोमबार