Technology Khabar २६ मंसिर २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २६ मंसिर । एनसेल एप क्याम्प २०१४ मा कृषि क्षेत्रमा आधारित आइसीटी फर एग्रिकल्चर एप २३ प्रतिश्पर्धी समूहलाई पछि पार्दै विजेता बनेको छ । यो एप कृषि क्षेत्रको विषयगत विजेतासहित मुख्य बिजेता बनेको हो ।
त्यसैगरी कर्पोरेट सोलुसनतर्फ सेन्टिनेप समूहले बनाएको ओपिनियो एप विजयी भएको छ भने शिक्षा र पर्यटनतर्फ क्रमश रितीरिवाज र लिपी एप विजेता भए । प्रत्येक विषयगत विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे भने समग्र विजेताले थप पाँच लाख रुपैया नगद पुरस्कार प्राप्त गरेको छ । कृषकहरुलाई बाली थन्काउनुपूर्व र त्यसपछि किटनाशकहरुबाट बचाउन सहयोग गर्ने यस एपको निर्माण सूचना प्रविधि विषयका अध्ययन गरेका विद्यार्थीहरुले बनाएका हुन् ।
‘हामीलाई सबै साथीहरुले कृषि क्षेत्र नरोज्न सुझाव दिएका थिए,’ समूह नेता अभिनाशझाले भने, ‘तर हामीले किसानको समस्या समाधान हुने खालको एप बनाउने निर्णय गर्यौ ।’ यस एपले किसानलाई मौसमसम्बन्धी जानकारी दिनुका साथै बजारसम्बन्धी सूचनासमेत प्रदान गर्दछ । हाल यस एपको नौ सयभन्दा बढी प्रयोगकर्ता छन् ।
कर्पोरेटतर्फ विजयी ओपिनियोले मानिसहरुको विचार तथा अनुभूतिहरुलाई वर्गिकरण गरी व्यवसायीहरुलाई आफ्नो व्यवसायिक योजना निर्धारण गर्न सहयोग पुर्याउँछ । विशेष गरी मिडियातर्फ लक्षित यो एपले प्रकाशित भएका समाचार तथा अन्य प्रतिक्रियाहरुको अध्ययन गरी विश्लेषण गर्ने कार्य गर्छ ।
‘हामीसबै विद्यार्थी भएकाले पुरस्कार रकमले अब अर्को उचाइमा पुग्न सहयोग गर्नेछ, समूह नेता चन्दन गुप्ताले भने । शिक्षा क्षेत्रतर्फ विजयी रितीरिवाज एपले नेपालका चाडपर्वहरुबारे जानकारी दिन्छ । विशेष गरी विदेशमा बस्ने नेपाली र नयाँ पींडिलाई आफ्नो सँस्कृतिको जगेर्ना गर्न सघाउने यो एप एक महिनाभित्र बजारमा आउने समूह नेता मनिश श्रेष्ठले जानकारी दिए । त्यसैगरी पर्यटनतर्फको विजेता एप लिपीले नेपाली भाषामा लेखिएका तस्बीर उनीहरुले बुझ्ने भाषामा परिवर्तन गर्न सहयोग पुर्याउँछ । अब हामी हाम्रो एपलाई परिपक्व बनाउनेछौं, समूहका व्यवसायिक योजनाकार रुपकराज घिमिरेले बताए।
प्रतिस्पर्धाको अन्तिम प्रस्तुतिका लागि प्रत्येक समूहले उनीहरुले बनाएको एपबारे अवधारणा साथै उक्त एपको व्यवसायिक रणनीति प्रस्तुत गरेका थिए । प्रस्तुतिका लागि प्रत्येक समूहलाई १० मिनेट समय प्रदान गरिएको थियो जसअन्तर्गत उनीहरुले दुई मिनेट निर्णायक मण्डलको प्रश्नको जवाफ दिन र तीन मिनेट आफ्नो एपको नमुना प्रयोग गरेर देखाउन भनिएको थियो ।
कुन्द दिक्षित, नरोत्तम अर्याल, पुर्णबहादुर क्षेत्री, सौरभ ज्योती, सुमन पाण्डे, टमी अहोनेन, र टमस मार्टुनस लगायत विभिन्न क्षेत्रका आठ विज्ञहरु सम्मिलित निर्णायक मण्डलले प्रतिस्पर्धीहरुलाई उनीहरुले प्रस्तुत गरेकाएपले समाधान गर्ने समस्याको प्रकृति, व्यवसायिक नमुना, एप, व्यवसायविस्तारको सम्भावना र प्रस्तुतिको स्तरका आधारमा अंक प्रदान गरेका थिए ।
४ सय ५७ समूहहरुले सहभागिताका लागि आवेदन दिएको यस प्रतिस्पर्धाको पहिलो चरणमा एक सय १५० समूह छानिएका थिए । ती समूहहरुले विभिन्न तालिम तथा सेमिनारमा सहभागी भइ एप निर्माणको प्राविधिक तथा व्यवसायिक पक्षबारे विज्ञहरुबाट ज्ञान हासिल गरेका थिए । मंसिर १६ गते उत्कृष्ट २४ समूह छानिएका थिए । तस्विर साभार बिजमाण्डू
प्रकाशित: २६ मंसिर २०७१, शुक्रबार