एनसेल एप क्याम्पका सहभागीहरु अन्तिम प्रतिस्पर्धामा

Technology Khabar २४ मंसिर २०७१, बुधबार

एनसेल एप क्याम्पका सहभागीहरु अन्तिम प्रतिस्पर्धामा

काठमाडौं ।

काठमाडौं, २४ मंसिर । एनसेल एप क्याम्पका उत्कृष्ट २४ समूहलाई एप व्यवसायको दीगोपन, बजारीकरण र मोवाइल प्रविधिको बढ्दो उपयोगिताबारे प्रतिस्पर्धी समूह र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुबीच अन्तर्क्रिया गराइएको छ। यहि २५ गते हुनेएप क्याम्पको फाइनलमा छनौट भएका प्रतिस्पर्धीहरु तथा सम्बद्ध पक्षबीच छलफल गराएको हो।

एनसेलले मंगलबारदेखि काठमाडौंमा प्रतिस्पर्धीबीच अन्तर्क्रिया सुरु गरेको हो । प्रतिस्पर्धी समूहले अन्तिम दिन आफ्नो एपको नमुना प्रदर्शन गर्दै त्यसको व्यवसायिक योजनासमेत प्रस्तुत गर्नेछन्। त्यसका लागि उनीहरुलाई पाँच मिनेट अवधारणा प्रस्तुति र थप तीन मिनेट एपको नमुना प्रदर्शनका लागि दिइने एनसेलले जनाएकोछ।

कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै एप क्याम्प लिथुयनियाका कार्यकारी प्रमुख तथा मोबोफ्री डटकमका सह संस्थापक टोमस मार्टुनसले नयाँ व्यवसायको दीगोपनबारे चर्चा गरे ।

मार्टुनसले नयाँ एप निर्माताहरुलाई उनीहरुले निर्माण गर्ने एपमा त्यस्ता विशेषताहरु समेट्न सुझाव दिए जुन एप खरिदका लागि प्रयोगकर्ताहरु बाध्य होऊन् । उनले बजारको मागलाई पहिचान गरेर एप बनाउन पनि सुझाव दिए।Ncell-app2

मोवाइल एप्लिकेसनको सम्भावनाबारे छलफल गर्दै मोवाइल सम्बन्धी परामर्शदाता टमी अहोनेनले अहिले सबैजसो व्यवसायले मोवाइल प्रविधिको उच्चतम प्रयोग गर्न थालेको बताए । अर्का वक्ता मनास्लु सफ्टवेयरका निर्देशक करुण थापाले मोवाइल एपको बजारीकरण गर्दा निर्माताहरुलाई बजारको आवश्यक अध्ययन गर्न र प्रतिस्पर्धा विश्लेषण गर्न सुझाव दिए।

सर्वाधिक अंक हासिल गरी छनौट भएका ६ समूहरुमा कृषितर्फ केयर क्रप, क्रिएटिभमाइन्ड, क्रिएटु डेभलपर वान, आइसिटी फर एग्रिकल्चर, साथी र दि रिभोलुसनरहेका छन् । कर्पोरेट सोलुसन्सतर्फ एप्स झोला, क्याबी, ड्रुपार्टमेन्ट, इगलस्कुल बस, क्यूओडी र सेन्टीनेप रहेका छन् ।

त्यसैगरी शिक्षा क्षेत्रबाट छानिएका समूहमा मेरो एन्सर, ग्रुप अफ इनोभेटिभ डेभलपर, लिएजिज, रीति रिवाज, स्पेशल फोर्सेस् र टिम जेभिरियन छन् । त्यसैगरी पर्यटन क्षेत्रतर्फ हायर ए गाइड, होमस्टे नेपाल, नेपफ्लाइटस्, टिमएल्लो नेपाल, टुरिष्ट टक र लिपी (स्क्रीप्ट) छनोट भएका छन् ।

प्रत्येक विषयगत विजेताले दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन भने समग्र विजेताले थप ५ लाख रुपैयाँ नगद पुरस्कारसहित अन्तर्राष्ट्रिय एप सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

easy care

प्रकाशित: २४ मंसिर २०७१, बुधबार

ताजा समाचार