कृषि तथ्यांक नै नक्कली भएको कृषि तथा उर्जा संसदीय समितिका सभापति गगन थापाको दाबी

Technology Khabar २१ मंसिर २०७१, आईतवार

कृषि तथ्यांक नै नक्कली भएको कृषि तथा उर्जा संसदीय समितिका सभापति गगन थापाको दाबी

काठमाडौं ।

काठमाण्डौं, १९ मंसिर । नेपाल कृषि पत्रकार प्रतिष्ठानको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कृषि तथा उर्जा संसदीय समितिका सभापति गगन थापाले मुलुकको आयात लिष्ट घटाउन सकिने वस्तु कृषि उपज मात्र भएको बताएका छन्  । कृषिको बजेट बढाउनु भनेको कृषि मन्त्रालयको बजेट बढाउनु मात्र नभएको उनको भनाइ छ । कृषिको सम्बन्धित अन्य क्षेत्र ऊर्जा, शिक्षा, सचार, सिंचाय लगायतको बजेट बढाउनु हो ।  सबैले समन्वय गरे मात्र कृषिको विकास हुने उनको भनाइ छ ।

नेपालको कृषि तथ्यांक नै नक्कली भएको उनको विश्लेषण थियो । ‘नेता, मन्त्रीको प्रोफाइलसमेत कृषि लेखिएको तथ्यांक छन् ।’, उनले भने, ‘कृषि तथ्यांक नै रिभ्यू हुनुपर्छ ।
एडिएस कृषिको दीर्घकालीन नीतिमा असर पर्ने भएकोले यसको बारेमा आफ्नो  समितिले विशेष चासो दिएको उनको भनाइ छ । उनले भने, ‘हामीले १३ वटै दातासित बैठक गरी एडिएस लागू भएमा बजेट उपलव्ध गराउन राजी गराएका छौं । दाताले सरकारले उत्तरदायित्व पुरा गरे आफूहरुले सहयोग  गर्ने बताएका छन् ।,

शैक्षिक संस्था र कृषि अनुसन्धान निकायवीच पनि समन्वय गरी नतिजामूलक सिकाइ लागू हुनुपर्ने उनको जोड छ ।  जोना र आफ्नो समिति सहकार्य गर्न तत्पर रहेको उनको भनाइ थियो ।

अहिले हजारौं युवा कृषिमा लागेको तर अचेल अनुदान लिनको लागि कृषि गर्नेको ताँती भएको उनको अनुभव छ । उनले भने, ‘धेरै युवा किसान अनुदान खोज्दै हिडेका छन् ।’ लाखौं लगानी गर्ने किसान पनि मुनाफा कमाउन नसकि चिन्तित भइरहेको उनले बताए । ‘व्यवसायिक कृृषक हुँ भन्ने तर गुजाराको लागि अन्य पेशा गर्नेहरु धेरै छन् । यसलाई कृषिको विकास भएको मान्न मिल्दैन,’ उनले भने  ।

प्रधामन्त्रीका आर्थिक सल्लाहकार डा. चिरन्जीवी नेपालले प्रभावशाली नेता र पार्टीको रोजाइमा कृषि मन्त्रालय कमै पर्ने गरेको टिप्पणी गरे । ७८ प्रतिशत गरिबी कृषि क्षेत्रमा भएको नेपालमा कृषिको व्यवसायिकीकरणमा विशेष प्राथमिकता दिनपर्ने बताए ।

नेपालमा अन्य देशको भन्दा अधिक, ५७ प्रतिशत नागरिक आर्थिक रुपले सक्रिय रहेको बताउँदै उनले भने, ‘तर विडम्बना, दैनिक २ हजार युवा अरुको देश बनाउन उडिरहेका छन् ।’ युवालाई यहीं अड्याउन नसके भयावह अवस्था आउन सक्ने उनको चिन्ता थियो ।
कृषि मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाले भूगोल, बजार, जलवायु आदिको आधारमा विशिष्ट उत्पादन गर्न प्रेरित हुने खबर सम्प्रेषण हुनुपर्ने अपेक्षा राखे । जमीन खण्डीकरण, जलवायु परिवर्तन, युवा पलायन आदिले नेपालको कृषि आक्रान्त भएको उनले बताए ।

राष्टिय साना कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले एडिएस मिनी संविधानको रुप भएको बताए । ‘दुई तिहाइ नागरिक किसान भएको मुलुकमा एडिएस आउँदैछ, तर हामी आम किसानले यसको निर्माण प्रक्रिया, विषयवस्तु बारे थाहा पाएका छैनौं ।’ कृषिको विकासमा आएको नीति नियमहरु कार्यान्वयन नभएको विषयमा उनले चिन्ता व्यक्त गर्दै भने, ‘अर्गानिक गाविस घोषणा भएपछि पाउने २५ प्रतिशत अनुदान, कृषिमा ६ प्रतिशत व्याजदरमा ऋण आदि कार्यान्वयन नभएकोजस्ता उदाहरण उनले दिए  ।’

योजना आयोगका सदस्य, डा. भारतेन्दु मिश्रले कृषिको विषयमा बनेका नीति, कार्यक्रमहरु समन्वय र सहकार्यको अभावले प्रतिफल ल्याउन नसकेको प्रतिक्रिया दिए ।
‘म योजना आयोगमा छु, तर भन्छु, हामीसित योजना र कार्यान्वयनमा तालमेल छैन । कृषिलाई गफमा सीमित पारिएको छ ।’

नेपाल कृषि पत्रकार प्रतिष्ठान नेपालका प्रमुख आम सञ्चार माध्यममा कृषि विटमा कार्यरत पत्रकारहरुको छाता संगठन हो । सो अवसरमा देशका विभिन्न जिल्लामा रही कृषि पत्रकारिता गर्दै आएका पाँच जना पत्रकार सम्मानित भए ।

Global Bank
easy care

प्रकाशित: २१ मंसिर २०७१, आईतवार

ताजा समाचार