सार्कमा उर्जा संझौता उपलव्धिपूर्ण भएको अर्थशास्त्रीहरुको भनाई

Technology Khabar १४ मंसिर २०७१, आईतवार

सार्कमा उर्जा संझौता उपलव्धिपूर्ण भएको अर्थशास्त्रीहरुको भनाई

काठमाडौं ।

काठमाडौं, १४ मंसीर । नेपालमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलनबाट आर्थिक समृद्धिको ढोका खुलेको अर्थविदहरुले बताएका छन् । मिडिया इन्टरनेसनलले शनिबार काठमाडौंमा आयोजना गरेको सार्क सम्मेलनका आर्थिक उपलव्धिहरु विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले सार्क सदस्य राष्ट्रहरुबीच भएको उर्जा संझौता नै महत्वपूर्ण उपलव्धि भएको बताए । यस संझौताबाट नेपालले धेरै फाइदा लिन सक्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै अर्थशास्त्री डा. डिल्लीराज खनालले तुलनात्मक रुपमा सार्क सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताए । उनले सार्क सम्मेलनमा भारतसँग भएका विभिन्न सम्झौताहरुलाई नेपालले कार्यान्वयन गर्दै लगे नेपालले सार्कबाट धेरै फाईदा लिन सक्ने बताए । अर्थविद खनालले सार्कमा भएको उर्जा सम्झौतानै सबैभन्दा महत्वपूर्ण भएको बताए । नेपालले भारतसँग मात्र नभई अरु राष्ट्रसँग पनि सहकार्य गरि अघि बढ्नु पर्ने उनको भनाई छ ।

दक्षिण एशियाली मामलाका विज्ञ एवं सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले सार्कमा भएका विभिन्न सम्झौताहरुलाई कार्यान्वयन गर्दै लैजान सके नेपालले सार्कबाट ठुलो फाईदा लिन सक्ने बताए । भारतसँगको उर्जा सम्झौतादेखी टेलिफोन महशुल घटाउनेसम्मको विषय सकारात्मक रहेको उनले बताए । डा पाण्डेले सार्क सम्मेलन अझै पनि उदार हुन नसकेको उल्लेख गर्दै सार्क राष्ट्रबीचको सम्बन्ध अत्यन्तै उदार हुनुपर्ने बताए ।

पूर्व अर्थसचिव कृष्णहरी बाँस्कोटाले १८ औं सार्क शिखर सम्मेलन हालसम्मका खराब सार्क मध्येको उत्कृष्ट रहेको बताए । उनले उर्जा संझौता आर्थिक विकासका लागि महत्वपूर्ण उपलव्धि भएको उल्लेख गरे । बाँस्कोटाले सार्क शिखर सम्मेलनमा सहभागी ८ देशले आफ्नो देशलाई मात्र फाईदा हुने काम गर्ने तर अरु देशलाई कुनै पनि फाईदाको मौका नदिने भएका कारण सार्क सम्मेलन महत्वपूर्ण र उपलव्धिपूर्ण नभएको बताए । सार्कमा सहभागी ८ वटै देशले आर्थिक सवालमा सबैको हितमा सामुहिक कुरा उठाउन नसकेको बताए । उनले सार्क राष्ट्रहरुबीच सामान ओसार पसार र आवतजावतमा कुनै बाधा उत्पन्न नहुने गरी निर्णय हुन नसक्नुले सार्कको आथिृक उपलव्धि कम भएको बताए ।

उता नेपाल उद्योग वाणिज्य महासंघले सार्कमा नीति क्षेत्रको सहभागिता कम्जोर रहनुले आर्थिक मुद्धालाई नेतृत्व गर्न कठिन भएको बताएको छ । नीजि क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले सार्कमा नीजि क्षेत्रको सहभघागिता कमजोर रहेको बताए । महासंघ अध्यक्ष पाण्डेले अन्तराष्ट्रिय संगठनहरुबाट नेपालले फाइदा लिन नसकेको बताए । उनले नेपाल आफू बलियो नभएका कारण निर्यातजन्य उत्पादन गर्न नसक्नु नै सबैभन्दा ठुलो घाटा रहेको बताए । उनले सार्क सम्मेलनबाट भएको उर्जा संझौतालाई नीजि क्षेत्रले सकारात्मक रुपमा लिएको उल्लेख गर्दै नेपालले विक्रि गर्ने सबैभन्दा महत्वपूर्ण कुरा विद्युत रहेको बताए । सार्क राष्ट्रहरुमा प्रत्यक्ष व्यापारको बाटो नखोलिनु सबैभन्दा ठुलो समस्या रहेको भन्दै उनले सार्क मूलुकभित्र एउटै योजना र भिजनको आबश्यकता औल्याए ।

easy care

प्रकाशित: १४ मंसिर २०७१, आईतवार