Technology Khabar ३ मंसिर २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, ३ मंसिर । छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालले प्रत्येक वर्ष गर्दै आएको जुत्ता चप्पल तथा वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यो वर्ष २०७१ पौष ९ गतेदेखि १५ गतेसम्म गर्ने भएको छ । यो प्रदर्शनी संघको एघारौ संस्करण समेत रहेको छ ।
प्रदर्शनीको अघिल्ला संस्करणहरु राष्ट्रिय सभागृहको चौरमा गर्दै आएकोमा यस वर्षदेखि भने भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना गर्ने भएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ । यो प्रदर्शनी यस वर्ष छालाजुत्ता तथा वस्तु उत्पादक संघ, नेपालको आयोजना र नेपाल कपडा तथा सिलाई व्यवसायी संघको सह आयोजनामा सञ्चालन हुन गईरहेको छ ।
स्वदेशी वुट र स्वदेशी सुटको एउटै छानामुनी प्रदर्शन र विक्री हुने भएकोले यो प्रदर्शनीले उपभोक्ताहरुको विश्वास जित्न सफल हुने र अघिल्ला प्रदर्शनी भन्दा पृथक हुने विश्वास आयोजकले लिईएको छ ।
उक्त प्रदर्शनीमा आफ्ना उत्पादनहरुलाई प्रवद्र्धन गर्न चाहने स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य वस्तु उत्पादन गर्ने उत्पादक एवं कपडा तथा सिलाई व्यवसायीहरुलाई सहभागी हुनका लागी संघले आव्हान समेत गरेको छ । साथै प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनीहरुका लागी स्टल बुकिङ्ग समेत खुल्ला गरेको छ ।
प्रकाशित: ३ मंसिर २०७१, बुधबार