Technology Khabar २६ कार्तिक २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, २६ कात्तिक । नेपाल उद्योग परिसंघको सक्रियतामा परिसंघ, नेपाल सरकार र युवा नेपाली निमार्ण व्यवसायी संघ (YCNC) को सहकार्यमा नेपालमा नै पहिलो पटक आयोजना भएको नेपाल पूर्वाधार शिखर सम्मेलन मंगलवार प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरे । स्वदेश तथा बिदेशका करिब ७०० सहभागी रहेको उक्त सम्मेलनको सम्मानित अतिथि मित्रराष्ट्र भारतका सडक, पारवहन तथा राजमार्ग मन्त्री नितिन जयराम गड्करी थिए ।
उद्घाटन मन्तव्यमा प्रधानमन्त्री कोइरालाले पूर्वाधार क्षेत्रमा स्वदेशी तथा बिदेशी लगानी बढाउन र नेपालमा ब्याप्त बेरोजगारी कम गर्नमा सहयोगी हुने बताए । ‘पूर्वाधार विकासमा क्षेत्रमा रहेका समस्याहरुको उचित समाधान निकाल्न र आगामी दिनमा नयाँ नीति निर्माणका लागि यस सम्मेलनले आवश्यक रचानात्मक सुझाव प्रस्तुत गर्न सफल हुनेछ’, कोइरालाले भने ।
सम्मेलनमा सम्मानित अतिथि गडकरीले प्रमुख वक्ताका रुपमा मन्तव्य दिएका थिए । आफ्नो मन्तब्यमा गडकरीले कुनै पनि पूर्वाधार विकासका लागि दृढ इच्छाशक्ती आवश्यक हुने बताए । साथै उद्योगधन्दा चलाउने र व्यवसाय गर्ने काम सरकारको नभएको नहुने बताए । ‘जुन देशमा राजाले व्यवसाय गर्छ त्यो देशका जनता गरिब हुन्छन्’ गडकरीले भने । भारतको अनुभवले पनि पूर्वाधार विकासमा कर्मचारीतन्त्रको परम्परागत सोच अवरोध रहेको उनको भनाई थियो । तर, विस्तारै कर्मचारीतन्त्र व्यवसायिक र प्रतिस्पर्धी बन्दै गएकाले अब त्यो समस्या नरहने उनले बताए ।
पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारी र पूँजी बजारले महत्वपूर्ण भुमिका खेल्ने गडकरीको भनाई थियो । भारतमा पूवाधार परियोजनाले बण्ड जारी गर्दा दशौ गुणा बढी आवेदन परेको स्मरण गर्दै उनले भने, ‘भिजन र सही कार्ययोजना भए पूँजी विकासको बाधक हुदैन ।’
सो सम्मेलनमा परिसंघका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले सम्मेलनको उद्देश्य, लक्ष्य र सान्दभिकताका विषयमा प्रकाश पारेका थिए । ‘नेपालको आर्थिक सामाजिक विकासका लागि र आम मानिसको जिवनस्तरमा सुधार गर्नका लागि यस पूर्वाधार सम्मेलन कोशेढुंगा सावित हुनेछ’ शर्माले भने ।
त्यसैगरी, परिसंघका अध्यक्ष इमेरिटस् विनोद चौधरीले पूर्वाधार विकासमा भारत र चिनबाट सिक्नु पर्ने बताए ।
भौतिक पूर्वाधार तथा यातयात मन्त्री बिमलेन्द्र निधीले कुनै पनि देशको आर्थिक सामाजिक विकासका लागि पूर्वाधार पूर्वसर्त भएकाले सरकार तथा निजी क्षेत्र मिलेर यस क्षेत्रको विकासमा सहकार्य गर्नु पर्ने बताए ।
अर्थमन्त्री डा. रामशरण महतले आर्थिक सुधार र पूर्वाधार विकासका लागि जस्तो सुकै सहयोग गर्न र निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए । दुई दशक अघि शुरु गरेको आर्थिक सुधारको प्रतिफल अहिले आइरहेकाले त्यसलाई नयाँ चरणमा लैजान दोस्रो चरणको सुधारको अभियान चलाएको मन्त्री महतको धारणा थियो । ‘यसै सन्दभैमा पूर्वाधारको विकास अति आवश्यक छ, जसमा निजी क्षेत्र अघि बढ्नु स्वागयोग्य छ’, महतले भने ।
प्रकाशित: २६ कार्तिक २०७१, बुधबार