अमेजनको ट्याबले एप्पलको ट्याबलाई उछिन्यो

Technology Khabar २४ कार्तिक २०७१, सोमबार

अमेजनको ट्याबले एप्पलको ट्याबलाई उछिन्यो

काठमाडौं ।

काठमाडौं, २४ कात्तिक । जेडी पावर ट्याब्लेट स्याटिस्फ्याक्शन अवार्डमा अमेजनको फायर ट्याब्लेटले पहिलो स्थान प्राप्त गरेको छ । अमेजनको फायर ट्याब्लेटले पहिलो स्थान हासिल गर्यो भने एप्पलको आईप्याडले दोस्रो स्थान हासिल गर्यो । अमेरिकामा मात्र गरिएको सर्वेक्षणमा एमेजनको ट्याब्लेटले उक्त प्रतियोगितामा निर्धारित १ हजार पूर्णाङ्कमा ८ सय २७ अङ्क प्राप्त गरेको थियो । यसलाई पछ्याउँदै एप्पलले भने कुल ८ सय २१ अङ्क पाएको बताइएको छ । यस प्रतियोगितामा सामसुङ तेस्रो स्थानमा पर्न सफल भएको छ ।

हरेक ६ महीनाको अन्तरालमा आयोजना गरिने उक्त सर्भेमा चलाउन सहजता, उपलब्ध फीचर्स, स्टाइलिश डिजाइन, मूल्यलगायत आधारमा उपभोक्तालाई ट्याब्लेटको मूल्याङ्कन गर्न लगाइएको थियो । उपभोक्तालाई दिइएको पाँच फरक विषयमा ट्याब्लेटले प्राप्त गरेको अङ्कका आधारमा तिनको र्याङिकङ गरिएको थियो । नतीजा कुनै एक मोडलको ट्याब्लेटका आधारमा नभई समग्र ब्राण्डका आधारमा रहेको आयोजकले जानकारी दिएको छ ।

पछिल्लो वर्ष यस प्रतियोगितामा एप्पलले पहिलो स्थान प्राप्त गरेको थियो भने अमेजन चौथो स्थानमा रहेको थियो । तर, यसपटक भने चलाउन सजिलो र उचित मूल्यका आधारमा अमेजन पहिलो स्थानमा पर्न सफल भएको जानकारी दिइएको छ ।

अध्ययनमा अमेरिकाका २ हजार ६ सय ८६ ट्याब्लेट प्रयोगकर्ता सहभागी भएका थिए । अध्ययनले बदलिँदो बजारका बारेमा सङ्केत दिँदै उपभोक्ताले अहिले मूल्यका आधारमा मात्र नभई त्यसको प्रतिफलका आधारमा समेत ट्याब्लेटको मूल्याङ्कन गर्ने निष्कर्षसमेत दिएको छ । तर, अझै पनि अध्ययनमा सहभागी करीब ३२ प्रतिशत मानिस अर्थात् तीनमध्ये एकले अन्य पक्षमा भन्दा ट्याब्लेटको मूल्यका आधारमा गुणस्तर मापन गर्ने बताएका छन् ।

अमेजनले उत्पादन मूल्यको नजिक वा कतिपय अवस्थामा सोभन्दा पनि कममा ट्याब्लेटलगायत उत्पादनको विक्री गर्दै आएको छ । तथापि, कम मूल्यमा अत्यधिक फीचरसहितको उत्पादन उपलब्ध गराउने तथा नवप्रवर्तनात्मक सोच भएको कम्पनीका रूपमा आफूलाई चिनाउन अमेजन सफल भएको छ । कम्पनीले आफ्नो ट्याब्लेटमा खराबी आएको समयमा प्रयोगकर्ताले विशेषज्ञसँग प्रत्यक्ष रूपमा भिडियो च्याटका माध्यमबाट समस्याका बारेमा जानकारी लिने तथा समाधान समेत गर्ने व्यवस्था मिलाएको छ ।
फायर रेञ्जका ट्याब्लेटमा ‘मेडे’ नाम दिइएको उक्त सुविधा अहिले उपभोक्तामाझ विशेष लोकप्रिय भएको छ । भर्खरै प्रकाशित नतीजा १ वर्षभन्दा कम समय प्रयोगमा रहेका ट्याब्लेटमाझ गरिएको अध्ययनमा आधारित रहेको बताइएको छ । साथै, यसमा एप्पलले भर्खरै सार्वजनिक गरेका आईप्याड भने सम्मिलित नरहेको जानकारी दिइएको छ । अभियानबाट

easy care

प्रकाशित: २४ कार्तिक २०७१, सोमबार

ताजा समाचार