गेम चेन्जर आयोजनामा लगानी गर्न तयारः एसियाली विकास बैंक

Technology Khabar १८ कार्तिक २०७१, मंगलवार

गेम चेन्जर आयोजनामा लगानी गर्न तयारः एसियाली विकास बैंक

काठमाडौं ।

काठमाडौं, १८ कात्तिक । एसियाली विकास बैंकका महानिर्देशक हुँ किमले अर्थमन्त्री डा रामशरण महतलाई उहाँकै कार्यकक्षमा भेटी ठूला गेम चेन्जर परियोजना तयार गर्न आग्रह गरेका छन् । सोमबार अर्थमन्त्रालयमा भएको भेटघाट तथा छलफल कार्यक्रममा उनले सो आग्रह गरे ।

“नेपाललाई ठूलो सहयोग हुने ठूला गेम चेन्जर आयोजनामा लगानी गर्न तयारी छौं”, महानिर्देशक किमले भने, ‘बैंकका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षले पनि त्यस्ता ठूला आयोजनाको संभावना हेर्न हामीलाई निर्देशन दिनुभएको छ ।’

गत बर्षको बैंकको सहायता प्रतिवद्धता अनुसार निकासा कम भएको उल्लेख गर्दै कार्यान्वयनमा जोड दिएर सहयोग बढी लिन पनि आग्रह गरे । उनको भनाई थियो, ‘रु ५० अर्ब सम्मको सहयोगको संभावना रहेको छ ।’ बिगतमा सानातिना छरिएर रहेका परियोजनामा बढी लगानी भएको र कसरतहरु पनि बढी भएको भन्दै उनले सीमित तर अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्ने आयोजनामा लाग्नुपर्ने महसूस गरिएको बताए ।

यसअघि अर्थमन्त्री डा महतले बैंकका उपाध्यक्ष नेपालमा आएको बखत र आस्तानामा भएको बैंकको बार्षिक बैठकका क्रममा सानातिना आयोजनामा भन्दा ठूलो प्रभाव दिने परियोजनामा लगानी गर्न र परिवर्तित समय अनुसार थप सहयोग गर्न आग्रह गरेका थिए ।

सो अवसरमा महानिर्देशक किमले राजनीतिक र आर्थिक वातावरणमा भएको सुधारको प्रशंसा गर्दै वातावरण सुध्रेकोले थप काम हुन सक्ने संभावना रहेका हुँदा सहयोग बढ्ने संकेत दिए । उनले कहिले अख्तियार, कहिले प्रशासन र कहिले स्थानीय अवरोधका कारण परियोजनाहरु सञ्चालन गर्न अप्ठेरो भैरहेकोले त्यसमा गम्भीररुपले ध्यान दिन अर्थमन्त्री डा महतसमक्ष आग्रह गरेका थिए ।

बैंकको हालसम्मको लगानी करिब २ अर्ब ९७ करोड डलर रहेको छ । ठूला परियोजनाहरुमा लगानी गर्न शुरु गरिसकेको बैंकले तनहुँ जलबिद्युत आयोजनामा करिब १५ रुपैयाँ लगानी गर्ने प्रतिवद्धता अनुरुप काम अगाडि बढिसकेको छ ।

easy care

प्रकाशित: १८ कार्तिक २०७१, मंगलवार