अर्थमन्त्री डा महतद्वारा अमेरिकासँग थप सहयोगको आग्रह

Technology Khabar १३ कार्तिक २०७१, बिहीबार

अर्थमन्त्री डा महतद्वारा अमेरिकासँग थप सहयोगको आग्रह

काठमाडौं ।

काठमाडौं, १३ कात्तिक । अर्थमन्त्री डा रामशरण महत र नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेबीच अर्थमन्त्रालयमा पारस्परिक सहयोग र हितका बारेमा छलफल भएको छ ।

सो अवसरमा अर्थमन्त्री डा महतले नेपालमा पछिल्लो समय राजनीतिक स्थायित्व भएको, लगानीको वातावरणमा उल्लेख्य सुधार भएको र विदेशी लगानी धमाधम आउन थालेको जानकारी गराए । उनले राजदूत बोडेसँग अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न उपयुक्त भएको सन्देश सुनाइदिन आग्रह गरे ।

बिद्युत उत्पादनका क्षेत्रमा लगानीको वातावरण राम्रो भएको उल्लेख गर्दै अर्थमन्त्री डा महतले हालै भारतसँग बिद्युत व्यापार सम्झौता भैसकेकोले उत्पादित बिद्युतको ठूलो बजार प्राप्त हुने भएकोले यस क्षेत्रमा ढुक्कसँग लगानी गरी लाभ लिन सकिने बताए । उनले भने, लगानीकर्ताहरुलाई सहज वातावरण बनाउनका लागि सरकारले तीन दर्जन जति कानूनहरुमा सुधार गर्ने व्यापक तयारी गरिरहेको छ ।

पछिल्लो समयमा लगानीको वातावरणमा भएको सुधारबारे अन्तर्राष्ट्रिय निकायहरुले समेत प्रतिवेदनहरु सार्वजनिक गरिरहेको उनले जानकारी गराए । उनको भनाई थियो, पछिल्लो प्रतिवेदनका अनुसार नेपाल दक्षिण एसियाली देशहरुमै लगानीको लागि दोस्रो आकर्षक गन्तब्यस्थल बन्न सफल भएको छ ।

सो अवसरमा अर्थमन्त्री डा महतले हिंसात्मक द्वन्द्वबाट भरखर पार पाउँदै गरेको मुलुक नेपालका लागि ठूलो सहयोग आवश्यक परेको भन्दै अमेरिकासँग नियमित सहयोगका अतिरिक्त मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) मार्फत पनि सहयोग गर्न आग्रह गरेका थिए । एमसीसीलाई अमेरिकाले सहयोग गर्ने विशेष व्यवस्थाको रुपमा लिइन्छ ।

अर्थमन्त्री डा महतले आगामी माघभित्र संबिधान घोषणा हुने भएकोले त्यसपछि नेपाल लगानीको लागि थप आकर्षक गन्तब्यस्थल हुने विश्वास दिलाए ।

सो अवसरमा राजदूत बोडेले एमसीसीमार्फत सहयोगको लागि आफूले सदासयतापूर्वक आफ्नो सरकारसमक्ष कुरा राख्ने जानकारी दिए । नेपालमा भैरहेको राजनीतिक तथा आर्थिक प्रगति र विकासका घट्नाक्रमलाई सकारात्मक भन्दै राजदूत बोडेले भने, बिद्युत व्यापार सम्झौता र आयोजना विकास सम्झौताले राम्रो सन्देश दिएको छ ।
संबिधान समयमै बन्ने गरी भैरहेको तयारीबारे पनि उनले आफूलाई उत्साहित बनाएको उल्लेख गरे ।

नेपालमा अहिले लगानीको वातावरण राम्रो भएको भन्दै राजदूत बोडेले आगामी दिनमा थप लगानी आउने आशा व्यक्त गरे ।

सो अवसरमा अमेरिकाले नेपाललाई दिदै आएको सहयोग र त्यसको कार्यान्वयनबारे छलफल भएको थियो । छलफल कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका उच्च अधिकारहरु र नेपालस्थित अमेरिकी दूतावासका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Sajilo Visa

प्रकाशित: १३ कार्तिक २०७१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार