Technology Khabar १३ कार्तिक २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, १३कात्तिक । कतार एयरवेजले नेपालबाट पनि अनलाइन टिकट बुकिङमा अफलाइन भुक्तानी गर्न सकिने व्यवस्था शुरु गरेको छ । कतार एयरवेजले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि नेपालको जुनसुकै ठाउँबाट कतार एयरवेजको टिकट अनलाइनमार्फत बुकिङमा अफलाइन भुक्तानी गर्न सकिने जानकारी दियो । अनलाइन बुकिङ गरिएपनि अफलाइनमा बैंकमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएकोछ ।
कतार एयरवेजका कन्ट्री म्यानेजर रामदास शिवरामले ग्राहकहरुलाई टिकट लिन सहज हुने र मुख्य कार्यालयसम्म धाउन नपरोस भनेर सेवा सुरु गरिएको जानकारी दिए । उनले नेपालमाअनलाइन टिकट बुकिङ शुरु गर्ने कतार एयरवेज पहिलो विमान सेवा भएको बताए ।
अनलाइन टिकट बुकिङ गर्ने यात्रुको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा खाता हुनुपर्ने वा अनलाइनबाट टिकट बुकिङ गरेपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक मार्फत मात्रै भुक्तानी गर्न सकिने छ । कम्पनीका अनुसार कतारले चाँडै नै अरु बैंकबाट पनि टिकटको रकम भुक्तानी गर्ने व्यवस्था मिलाइने तयारी भइरहेको जानकारी दिएको छ । उपभोक्ताले टिकट बुकिङ गरेको ४८ घण्टा भित्रमा रकम भुक्तानी गरिसक्नुपर्नेछ । भुक्तानी क्रेडिट कार्ड वा चेक मार्फत गर्न सकिने छ । कम्पनीले अनलाइन बुकिङ चौविसै घण्टा र सातैदिन गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
यसैबीच कतारले अनलाइन बुकिङमार्फत दुइतर्फि टिकट किन्ने यात्रुहरु मध्येबाट लक्की ड्र मार्फत १ जनालाई टिकट तथा १० जनालाई गुड्डी व्याग दिने जनाएको छ । पाँचतारे एयरवेजले एक सय ३८ वटा जहाजमार्फत विश्वका एक सय ४५ गन्तव्यमा उडान भरिरहेको छ भने नेपालमा दैनिक तीन उडान गरिरहेको छ ।
प्रकाशित: १३ कार्तिक २०७१, बिहीबार