नेपालमा दुई करोड २२लाख बढि मोबाइल प्रयोगकर्ता, ३३प्रतिशत जनता इन्टरनेटको पहुँचमा

Technology Khabar १० कार्तिक २०७१, सोमबार

नेपालमा दुई करोड २२लाख बढि मोबाइल प्रयोगकर्ता, ३३प्रतिशत जनता इन्टरनेटको पहुँचमा

काठमाडौं ।

काठमाडौं, १० कात्तिक । नेपालमा विभिन्न किसिमका फोन प्रयोगकर्ताको संख्या करिब साढे दुई करोडको हाराहारी पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एमआइएस) प्रतिवेदनअनुसार साउन महिनासम्म सबै किसिमका टेलिफोन प्रयोगकर्ताको संख्या दुई करोड ४८ लाख २६ हजार छ सय ८४ पुगेको छ ।

प्राधिकरणकाअनुसार साउन महिनासम्म आठ लाख तीस हजार सात सय ८९ उपभोक्तासँग फिक्स्ड टेलिफोन (पिएसटीएन) रहेको छ । आर्थिक वर्ष २०७०/७१ को साउनमा आठ लाख ४७ हजार ६२ फिक्स्ड टेलिफोन ग्राहक थिए ।

यसैगरी मोबाइलतर्फ दुई करोड २२लाख ६५ हजार दुई सय ३६ र अन्य तर्फ १७ लाख ३० हजार छ सय ५९ ग्राहक रहेका छन् । ग्राहक संख्याको आधारमा एनसेल नेपालमा सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक भएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ।

एनसेलको ग्राहक संख्या एक करोड १९ लाख ७०हजार छ सय १९ पुगेको तथ्यांकमा छ। यसैगरी नेपाल टेलिकमका एक करोड १० लाख ७१ हजार दुई सय ८७ ग्राहक छन् भने स्मार्ट टेलिकमको ग्राहक ११ लाख २१हजार १ सय र नेपाल स्याटलाइट टेलिकमको एक लाख ५० हजार ग्राहक रहेको प्रतिवेदनमा उल्लेख छ ।

दूरसंचार सेवा प्रयोगकर्तामध्ये नेपालमा सबैभन्दा बढि मोबाइल प्रयोगकर्ता रहेको देखिएकोछ । नेपालका कुल जनसंख्यामध्ये ८४.०३ प्रतिशतले मोबाइल, ३.१४ प्रतिशतले फिक्स्ड र ६.५३ प्रतिशतले अन्य खाले दूरसंचार सेवा प्रयोग गर्ने गरेका छन् ।

त्यसैगरी नेपालमा ३३.७६ प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । साउन महिनासम्म ८९ लाख ४६ हजार ५ सय ६९ नेपालीको पहुँचमा इन्टरनेट सेवा पुगिसकेको छ ।

 कूल इन्टरनेट प्रयोगकर्तामध्ये नेपाल टेलिकमको ५३ प्रतिशत अर्थात ४७ लाख ८९ हजार ९ सय १७ जना ग्राहक छन् भने दूरसञ्चार सेवा प्रदायक नीजि कम्पनी एनसेलका ४५ प्रतिशत अर्थात ३९ लाख ९३ हजार ७ सय ३० ग्राहक रहेका छन् । आइएसपिएन र युटिएलका १/१ प्रतिशत ग्राहक छन् ।

नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने बढ्दै गएको देखाएको छ । एक वर्षको अवधिमा करिव ७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता बढेका छन् । सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता एनसेलका भएपनि मोबाइलमा इन्टरनेट चलाउने ग्राहक टेलिकमका बढी रहेको प्रतिवेदनले देखाएकोछ ।

साउन महिनासम्म ८५ लाख १८ हजार ९४ जनाले मोबाइलमा इन्टरनेट चलाउँछन् । जसमध्ये टेलिकमका ४५लाख २४ हजार ३ सय ६४ जना रहेका छन् भने एनसेलका ३९ लाख ९३ हजार ७ सय ३० जना रहेका छन् ।

easy care

प्रकाशित: १० कार्तिक २०७१, सोमबार

ताजा समाचार