युरोपेली युनियनको सहयोगमा तेब्बर बृद्धि

Technology Khabar ३ कार्तिक २०७१, सोमबार

युरोपेली युनियनको सहयोगमा तेब्बर बृद्धि

काठमाडौं ।

काठमाडौं, ३ कात्तिक । युरोपेली युनियनले नेपालको ग्रामीण पूर्वाधारको विकास, रोजगारी सिर्जना, शिक्षाको गुणस्तर विकास र सुशासनको सुदृढीकरणका लागि करिब ४५ अर्ब रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । आगामी २०२० सम्मका लागि निर्धारित उक्त सहयोग कार्यक्रमको अर्थमन्त्री डा रामशरण महत र युरोपियन कमिशनर एण्ड्रिस पिबाल्ग्सले अर्थमन्त्रालयमा संयुक्तरुपमा प्रारम्भ गरे ।

युरोपियन युनियनले नेपाललाई उपलब्ध गराउँदै आएको यो सहयोग कार्यक्रम अन्तर्गतको रकममा बिगतको तुलनामा तेब्बरले बृद्धि गरेको छ । करिब ८ महिनाअघि अर्थमन्त्री डा महत र युरोपियनका पदाधिकारीहरुबीच भएको वार्ता तथा छलफलमा उक्त सहयोग रकमलाई तेब्बरले बृद्धि गर्ने सहमति भएको थियो । अर्थमन्त्री डा महत र युरोपेली युनियनका कमिशनर पिबाल्ग्सको समुपस्थितिमा अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि युरोपेली युनियनका राजदूत रेन्जी टेनरिकबीच अर्थमन्त्रालयमा आइतबार उक्त सहयोग कार्यक्रममा हस्ताक्षर भयो । हस्ताक्षर भएपछि अव उक्त सहयोग कार्यक्रमको कार्यान्वयनको बाटो खुलेको छ ।

सो अवसरमा बोल्दै अर्थमन्त्री डा महतले ग्रामीण क्षेत्रमा पूर्वाधारका कामहरु सम्पन्न गर्ने सरकारको सोचलाई कार्यान्वयन गर्न यो युरोपियन युनियनको सहयोग महत्वपूर्ण हुने बताए ।

यो सहयोगको कार्यान्वयनबाट नेपाललाई विकासशील मुलुकको दाँजोमा पुर्याउने सरकारको लक्ष्यलाई पनि सहयोग पुग्ने अर्थमन्त्री डा महतले उल्लेख गरे । सरकारले उच्च आर्थिक बृद्धिको लागि आक्रामकरुपमा काम गरिरहेको उल्लेख गर्दै उनले दशकौं लामो हिंसात्मक द्वन्द्व र संक्रमणकालबाट गुज्रिनुपरे पनि नेपालले सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिए । उनको भनाई थियो, ‘अव आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्नुछ ।’

अर्थमन्त्री डा महतले यरोपियन युनियनका साथै युरोपियन इन्भेष्टमेन्ट बैंकबाट आगामी दिनमा विशेषगरी उर्जा, कृषि तथा पूर्वाधारका क्षेत्रमा सहयोग जुटिरहने विश्वा पनि व्यक्त गरे ।

सो अवसरमा बोल्दै युरोपियन कमिशनर एण्ड्रिस पिबाल्ग्सले युरोपियन युनियनले नेपाललाई दिदै आएको सहयोग बढाएर तेब्बर पुर्याएको र यो सहयोग ग्रामीण पूर्वाधार, शैक्षिक गुणस्तरमा सुधार, विकेन्द्रिकरण तथा लोकतान्त्रिक सुशासन र व्यवस्थापनमा खर्च हुने बताए ।

नेपाली जनताले लामो समयदेखिको द्वन्द्व र संक्रमणकाललाई पार गरेको भन्दै यो शान्तिपूर्ण र लोकतान्त्रिक संक्रमणको व्यवस्थापन भैरहेको यस अवस्थामा आगामी दिनमा यो व्यवस्थालाई सहयोग पुर्याउन पनि सहयोगलाई तेब्बर पारिएको स्पष्ट पारे । उनको भनाई थियो, यस सहयोगले नेपाललाई सहस्राब्दी लक्ष्य हासिल गर्न पनि ठोस सहयोग पुग्नेछ ।

युरोपियन युनियन र यरोपका मुलुकहरु नेपाललाई सहयोग दिने सबैभन्दा ठूलो समूह रहेको छ । विगत तीन दशकमा युरोपियन युनियनले नेपालको शिक्षा, स्वास्थ्य, शान्ति, स्थायित्व, पर्यावरण संरक्षण, खाद्य सुरक्षा, प्राकृतिक विपद व्यवस्थापन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ ।

हस्ताक्षर समारोहमा अर्थमन्त्रालयका पदाधिकारीहरु र युरोपियन युनियनका उच्च अधिकारीहरुको उपस्थिति थियो । यसअघि युरोपियन युनियनको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा महतलाई उहाँकै कार्यकक्षमा भेटी नेपालको पछिल्लो अवस्था, संबिधान निर्माणको तयारी, आर्थिक एजेण्डा, सरकारका प्राथमिकताका बारेमा छलफल गरेको थियो ।

easy care

प्रकाशित: ३ कार्तिक २०७१, सोमबार