आठ अर्बको लगानीमा होटल निर्माण हुने, सिंगापुरको स्टारवुड ग्रुप व्यवस्थापन गर्ने

Technology Khabar २४ आश्विन २०७१, शुक्रबार

आठ अर्बको लगानीमा होटल निर्माण हुने, सिंगापुरको स्टारवुड ग्रुप व्यवस्थापन गर्ने

काठमाडौं ।

काठमाडौं, २४ असोज । करिब चार बर्षको तयारीपछि एमआईटी ग्रुप होल्डिङसको लगानीमा काठमाण्डौमा पाँचतारे ‘शेराटन काठमाण्डौ होटल’ को निर्माण शुरु हुने भएको छ । गैरआवासीय नेपाली दिवस (एनआरएन डे) को अबसर पारेर अक्टुवर ११ तारिख शनिवार प्रधानमन्त्री सुशील कोइरालाले उक्त होटलको शिलान्यास गर्ने भएका छन् ।

करिव ८ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको होटलमा शतप्रतिशत बैदेशिक लगानी रहने बताईएको छ । होटलको प्रर्बद्धक अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङस रहेको छ भने ब्यबस्थापन तथा संचालन सिंगापुरको स्टारवुड ग्रुपले गर्ने छ । उक्त एमआईटी ग्रुप होल्डिङस एनआरएनका अध्यक्ष शेष घलेको लगानीमा स्थापना भएको कम्पनी हो ।

काठमाण्डौको कान्तिपथस्थित केशरमहलसँगै रहेको करिव १४ रोपनी क्षेत्रफलमा होटल निर्माण हुनेछ । १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम हुने कम्पनीका अपरेसन म्यानेजर सुरेश चित्रकारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।SHERATON-KATHMANDU

पाँचतारे लक्जरी होटल शेराटन काठमाण्डौमा २१८ वटा गेष्टरुम र सुइट रहने छन् । हेल्थ क्लव, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुबिधा उपलब्ध हुनेछन् । होटलभित्रै रिटेल सपिङ सुबिधा हुने छ भने स्थानीय र अन्तराष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ ।

बिबाह तथा सभा समारोहका लागि करिव एक हजार सिट क्षमताको सभाकक्ष हुने छ जुन काठमाण्डौमा हालसम्म उपलब्धमध्ये सवैभन्दा ठूलो हुने छ । यसबाहेक थप दुईवटा सभाकक्ष, तीनवटा मिटिङ रुम र बोर्ड रुम पनि रहनेछन् ।

भवनको निर्माण आधुनिक ‘पोष्ट टेन्सन्ड कंक्रिट’ बिधिमार्फत् गरिने छ, जुन काठमाण्डौमा पहिलोपटक प्रयोग गर्न लागिएको कम्पनीको दाबी छ । यसले भवनलाई बलियो र सुरक्षित बनाउने बताईएको छ । होटल निर्माणका क्रममा करिव ५० हजारले प्रत्यक्ष रोजगारी पाउने छन् भने होटल संचालनपछि ४५० जना दक्ष जनशक्तिले रोजगारी पाउने छन् ।

हाल होटलको डिजाइन र नक्सा पास भइसकेको छ भने शिलन्यास लगत्तै निर्माण कार्य सुरु हुने छ । सन् २०१७ को अन्त्यसम्ममा निर्माण सम्पन्न गरी सन् २०१८ फेब्रुअरी महिनाबाट होटल संचालन गर्ने लक्ष्य लिइएको छ ।

होटलमा निर्माणसँगै मुलुकको सेवा क्षेत्रमा आएको सवैभन्दा ठूलो प्रत्यक्ष बैदेशिक लगानी भएकाले नेपालको पर्यटन उद्योगको बिकाशमा दूरगामी प्रभाव पार्ने कम्पनीको बिश्वास छ । यसले नेपालमा प्रत्यक्ष बैदेशिक लगानीमा ठूला परियोजना सुरु गर्न प्रोत्साहन मिल्ने र अन्तराष्ट्रिय चेन होटलहरुलाई नेपाल आउन हौसला मिल्ने आशा व्यक्त गरिएको छ ।

होटल म्यानेजमेन्ट कम्पनी ‘स्टारवुड होटल र एण्ड रिसोर्ट वल्डवाइड इंक’ ले संचालन गर्ने बिभिन्न होटल ब्राण्डमध्ये शेराटन पनि एक हो । शेराटन ब्राण्डमा बिश्वका करिव ७० मुलुकमा ४ सय होटल संचालन भइरहेका छन् ।

गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा प्रर्बद्धित अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको ‘एमआईटी ग्रुप होल्डिङ्स’ ले शिक्षा र रियलस्टेट क्षेत्रमा काम गरिरहेको छ । एमआईटीको लगानीमा मेलवर्न र सिड्नीमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी’ कलेज संचालन गरिरहेको छ जहाँ करिव ३ हजारभन्दा धेरै अन्तराष्ट्रिय बिद्यार्थी अध्ययनरत छन् ।

एमआईटी ग्रुपले प्रोपर्टी म्यानेजमेन्टको काम पनि गरिरहेको छ । एमआईटीसँग मेलवर्न र सिड्नीका मुख्य स्थानमा रहेका बिभिन्न ब्यबसायिक भवनहरुको स्वामित्व छ ।

Global Bank
easy care

प्रकाशित: २४ आश्विन २०७१, शुक्रबार

ताजा समाचार