कृषि बजार स्थापनामा सरकारले सहयोग गर्नेछ: कृषिमन्त्री पराजुली

Technology Khabar १ आश्विन २०७१, बुधबार

कृषि बजार स्थापनामा सरकारले सहयोग गर्नेछ: कृषिमन्त्री पराजुली
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १ असोज । कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि उत्पादन बृद्धिका साथै बजारको पनि त्यत्तिकै खाँचो भएकोले निजीक्षेत्रलाई पनि बजार स्थापनामा सहयोग गर्ने तयारी गरिरहेको र आफ्नै खुट्टामा उभिन सक्ने नहुन्जेलसम्म राज्यले नै सहयोग गर्ने कार्यक्रम ल्याउन लागेको बताएकाछन् । बल्खु कृषि तथा तरकारी बजारको दोस्रो वार्षिकोत्सवमा बोल्दै उनले सो कुरा बताए ।

कृषिमन्त्री पराजुलीले नेपालको कृषि निर्बाहमूखी भएकोले फड्को मार्न नसकेको बिचार पनि व्यक्त गरे । करिब ३५ लाख युवाहरु विदेशिएको र ३९ लाख युवाहरु बेरोजगार रहेको बताउदै उनले व्यवसायिकताको विकास हुन सकेमा कृषिमै रोजगारी र आर्थिक उन्नतिको क्षमता रहेको धारणा पनि व्यक्त गरे । व्यवसायिकताको विकासका लागि उन्नत बीउ र उन्नत प्रविधि प्रयोगमा जोड दिदै किसानका लागि बजारको सुनिश्चितता गरिने आश्वासन दिए । उनका अनुसार कोल्ड स्टोरेजमा सामान राख्नुपर्छ तर कोल्ड स्टोरेज गर्नुभन्दा त्यसलाई प्रशोधन गरेमा बढी लाभ लिन सकिन्छ ।

सो अवसरमा बल्खु कृषि तथा तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले दुई बर्षको छोटो अवधिमा तरकारीको बिक्री बितरणमा भएको बिचौलिया प्रबृत्ति रोक्न, उपभोक्तालाई उचित मोलमा ताजा तरकारी उपलब्ध गराउन र किसानहरुको भरपर्दो तरकारी बजारको रुपमा स्थापित हुन सफल भएको बताए ।

भौगोलिक विविधता र अनुकूल हावापानीका कारण नेपालमा मूल्यवान कृषिबस्तुको उत्पादन गर्न सकिने संभावना रहेको चर्चा गर्दै कार्यकारी निर्देशक कुँवरले यस्ता बजारहरुको स्थापनाबाट किसानलाई प्रत्यक्ष सहयोग पुग्ने भएकोले सरकारले बहालकर, स्थानीय विकास कर तथा कर्जामा ब्याज छुट गरिनुपर्ने खाँचो रहेको स्पष्ट पारे ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट परियोजना निर्देशक योगेन्द्रकुमार कार्कील कृषिक्षेत्रमा खास काम गर्नेलाई प्याक्टले सहयोग गर्ने तर फजुल खर्च गर्नेका लागि परियोजनाले साथ नदिने बताए । वार्षिकोत्सवका अवसरमा कृषिक्षेत्रमा कलम चलाउने नागरिक दैनिकका पत्रकार सुजन ओली, ५ जना कृषि व्यवसायी र ५ जना कृषकहरुलाई सम्मान गरिएको थियो । साथै मन्त्री पराजुलीले वार्षिकोत्सवका अवसरमा रक्तदान गर्ने ७० जनालाई प्रमाणपत्र प्रदान गरेका थिए ।

Sajilo Visa

प्रकाशित: १ आश्विन २०७१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार