‘अब पालो आर्थिक क्रान्तिको’ पुस्तक सार्वजनिक

Technology Khabar ३० भाद्र २०७१, सोमबार

‘अब पालो आर्थिक क्रान्तिको’ पुस्तक सार्वजनिक

काठमाडौं ।

काठमाडौं, ३० भदौ । क्रियाशील लेखक प्रल्हाद गिरीको पुस्तक अब पालो आर्थिक क्रान्तिको सार्वजनिक भएको छ । आर्थिक, मौद्रिक, वित्तीय क्षेत्रमा कलम चलाउँदै आएका लेखक गिरीको पुस्तक नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल तथा युवा नेता गगन थापाले लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पण पछि मन्तव्य राख्दै काँग्रेस नेता पौडेलले मुलुकले तीव्र गतिको विकास गर्न जनताले आर्थिक क्रान्तिको बाटो अपनाउनुपर्ने कुरा बताए । उनले राजनैतिक तहमा जति असहमति भए पनि विकास निर्माणमा सबै राजनैतिक दल एक हुनुपर्ने जिकिर गरे ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले देश अब आर्थिक पछौटेपनको शिकार हुन नहुने बताउँदै आइटीका एक सामान्य विद्यार्थीले अमेरिकन कम्पनी फेसबुकलाई नेपालको वार्षिक बजेट सरहको रकममा ह्वाट्सएप एप्लिकेशन बिक्री गरेको स्मरण गराए । थापाले नेपालीहरूमा यस्तो क्षमता भएको र यसको उजागर गर्न नसकिएको बताए । उनले लेखक गिरीको लेखन प्रस्तुति र उठान गरेका विषयहरूको सान्दर्भिकता बलियो रहेको पनि बताए ।

लेखक गिरीले राजनैतिक तवरले चेतनशील नेपाली जनतालाई आर्थिक सरोकारका मुद्दाहरूमा घच्घच्याउन समसामयिक आर्थिक, वित्तीय र मौद्रिक क्षेत्रका जल्दाबल्दा विषयहरूको बहस चलाउन अहिले खाँचो भएको उल्लेख गरे । ‘पुस्तकबाट मुलुकका नीति निर्माता, विद्यार्थी, अनुसन्धानकर्ता तथा आर्थिक क्षेत्रका जो कोही जिज्ञासुलाई पनि टेवा पुग्ने विश्वास लिएका छु ।’ बैंकर समेत रहेका गिरीले भने ।

अर्थशास्त्र, समाजशास्त्र र व्यवस्थापन तीनै संकायमा त्रिभुवन विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातकोत्तर तथा विकास पत्रकारितामा भारतबाट डिप्लोमा गरेका लेखक गिरी डेढ दशकदेखि क्रियाशील लेखन तथा तालिममा संलग्न छन् । आर्थिक अनुसन्धानका लागि देश, विदेशबाट सम्मान र पुरस्कार पाइसकेका लेखक गिरी विगत १८ वर्षदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन् ।

easy care

प्रकाशित: ३० भाद्र २०७१, सोमबार

ताजा समाचार